-रबर्ट प्रिट (हेल्थडे रिपोर्टर)
के नियमित कडा व्यायाम जवानीको अमृतसुधा हुन सक्छ? एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ, कम्तिमा हाम्रो शरीरका कोषहरुको सम्बन्धमा ।
अमेरिकी राज्य युटाको ब्रिगम योङ विश्वविद्यालयका व्यायाम विज्ञानका प्रोफेसर ल्यारी टकर भन्छन्, ‘तपाईं ४० वर्ष हुनुको अर्थ जैविक रुपमा पनि तपाईं ४० वर्ष बुढो हुनु भयो भन्ने छैन।’
‘हामी सबैलाई थाहा छ, कतिपय मानिसहरू उनीहरूको वास्तविक उमेरभन्दा कम उमेरका अर्थात् युवा देखिन्छन् । हामी जति शारीरिक रुपमा सक्रिय हुन्छौँ, जैविक रुपमा हाम्रो शरीर बुढो हुने प्रक्रिया पनि त्यति नै ढिलो हुन्छ,’ विश्वविद्यालयद्वारा जारी समाचारमा टकर भन्छन् ।
प्रोफेसर टकर र उनका सहकर्मीले एउटा सर्वेक्षणमा पाँच हजार आठ सयभन्दा बढी अमेरिकीबाट संकलित तथ्यांक अध्ययन गरेका थिए। अध्ययन अनुसार निस्क्रिय बस्ने अल्छी वा अलिअलि मात्र व्यायाम गर्नेको तुलनामा नियमित कडा शारीरिक व्यायाम गर्ने वा शारीरिक रुपमा सक्रिय व्यक्तिको कोषको क्रोमोजोमको दुवै छेउमा हुने ‘टेलुमियर’ लामो हुन्छ।’
टेलुमियर प्रोटिन निर्मित त्यस्तो तत्व हो, जसले क्रोमोजोमलाई बिग्रन वा क्षतिग्रस्त हुनबाट बचाउँछ । टेलुमियरले क्रोमोजोमलाई ‘इन्ट्याक्ट’ नराख्ने हो भने हाम्रो शरीरका कोष छिट्टै बुढो हुन्छन् र नष्ट हुन्छन्। हाम्रो शरीरमा जति कोष विभाजन हुन्छ, त्यति नै टेलुमियर पनि छोटो हुँदै जान्छ। यो प्रक्रिया हाम्रो जीवनभर चलिरहन्छ र हामी बुढो हुँदै जान्छौँ अर्थात् हामी जति बुढो हुँदै जान्छौँ, टेलुमियर पनि त्यति नै छोटो हुँदै जान्छ।
तर, शारीरिक रुपमा अत्यन्त सक्रिय र कडा शारीरिक व्यायाम गर्ने वयस्कहरू सामान्य रुपमा सक्रिय वयस्कको तुलनामा ७ वर्ष बढी युवा नै देखिन्छन्। अर्को शब्दमा भन्नुपर्दा, शारीरिक व्यायाम/परिश्रम नगर्ने अल्छीको तुलनामा कडा व्यायाम/परिश्रम गर्नेहरूमा बुढ्यौली ७ वर्ष ढिलो आउँछ। अनुसन्धानकर्ताका अनुसार अझ शारीरिक रुपमा निस्क्रिय वयस्कसँग तुलना गर्दा त यो ९ वर्ष बढी हुन आउँछ।
अनुसन्धानकर्ताले दैनिक ३० मिनेट (महिला) र ४० मिनेट (पुरुष) जगिङ गर्नुलाई शारीरिक रुपमा सक्रियको अर्थभित्र राखेका छन्। साथै, यस्तो जगिङ सातामा कम्तिमा पाँच दिन गर्नुपर्छ।
‘तपाईं आफ्नो जैविक बुढ्यौलीको गति घटाउन चाहनु हुन्छ भने दैनिक एकछिन गर्ने व्यायाम पर्याप्त हुँदैन,’ टकर भन्छन्, ‘यसका लागि तपाईंले कडा व्यायाम नियमित गर्नुपर्छ ।’
यो अध्ययनले कडा व्यायामले टेलुमियरलाई छोटो हुनबाट रोक्छ भन्ने प्रमाणित भने गर्दैन । टकर भन्छन्, ‘हामीलाई थाहा भएकै कुरा हो, नियमित शारीरिक व्यायामले मृत्युदर घटाउन र आयु लम्ब्याउन सघाउँछ र अहिले हामीलाई थोरै भए पनि के लाग्छ भने व्यायामका कारण टेलुमियर जोगाउन सकिन्छ ।’
यो अध्ययन प्रिभेन्टिभ मेडिसिन जर्नलको जुलाई अंकमा छापिँदै छ।
-Agency
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago