काठमाण्डौ । अनुभवी लगानीकर्ता र विश्वका धनीव्यक्तिमध्ये एक हुन्, वारेन बफेट। आफ्नो परोपकारी कार्यका लागि पनि उनी परिचित छन्। 

परोपकारी कार्यलाई अगाडि बढाउन हरेक वर्ष आयोजना गर्ने वारेन बफेटको ‘बफेट पावर लन्च’ सधैँ चर्चामा रहन्छ। उनले आफ्नो मृत्युपछि लगभग सबै सम्पत्ति दान गर्ने घोषणा गरिसकेका छन्। 

हालै वारेन बफेटले विश्वका युवाहरुलाई धनी बन्ने मन्त्र दिएका छन्।

वारेन बफेटले सोसल मिडिया प्लेटफर्म लिंक्डइनमा सेयर गरेको पोस्टमा धनी बन्ने सजिलो मन्त्र दिएका छन्। उनले आफ्नो भ्याल्यू बढाउन युवालाई दुईवटा कुरामा ध्यान दिन आवश्यक रहेको बताएका छन्। स्पष्ट रुपमा लेख्न र बोल्न सिकेर कुनै पनि व्यक्तिले आफ्नो भ्याल्यू कम्तीमा ५० प्रतिशतले बढाउन सक्छ। सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा बफेटले भनेका छन्, ‘आफ्नो भ्याल्यू ५० प्रतिशतले बढाउने सबैभन्दा सजिलो उपाय भनेको आफ्नो सञ्चार कौशल सुधार गर्नु हो। तपाइँसँग ज्ञान छ तर यसलाई राम्रो तरिकाले मानिसलाई बताउन सक्नुहुन्न भने यसको कुनै भ्याल्यू हुँदैन।’ 

आफ्नो भ्याल्यू बढाउन यी दुई कुरा महत्वपूर्ण

लिंक्डइनमा वारेन बफेटको उक्त भिडियो क्यानडाको स्टार्टअप कम्पनी भ्वाइसफ्लोका सहसंस्थापक माइकल हुडले सेयर गरेका छन्। भिडियोमा बफेटले भनेका छन्, ‘कम्युनिकेसन स्किल्सलाई राम्रो बनाउन महत्वपूर्ण हुन्छ। यसमा लेख्ने र बोल्ने कला समावेश हुन्छ। यदि तपाइँ राम्रोसँग कुराकानी गर्न सक्नुहुन्न भने त्यसले तपाइँको आँखाले अँध्यारोमा कुनै केटीलाई आँखाले ईशारा गरिरहेको जस्तो प्रमाणित हुन्छ। यसको कुनै फाइदा छैन। तपाइँसँग सारा दुनियाँको ज्ञान छ तर यदि त्यसलाई मानिससम्म पुर्याउन सक्नुहुन्न भने सारा ज्ञानको अर्थ हुँदैन।’ 

वारेन बफेटलाई सेयर बजारको बिग बुल भनेर चिनिन्छ। सेयर बजारमा लगानी गरेर अर्बौंको सम्पत्ति आर्जन गरेका छन्। अहिले उनी विश्वका धनीहरुको सूचीमा सातौँ स्थानमा छन्। ९१ वर्षीय वारेन बफेटको कुल सम्पत्ति हाल ९९.८ बिलियन डलर छ। उनी विश्वका सबै ठूला कम्पनीमा लगानी गर्ने बर्कशायर ह्याथवे कम्पनीका सीईओ हुन्। यसबाहेक बर्कशायर ह्याथवेको पोर्टफोलियोमा उपभोक्ता व्यवसायदेखि बीमासम्मका क्षेत्र समावेश छन्।

वारेन बफेट परोपकारका लागि पनि चिनिन्छन्। उनी विश्वका सबैभन्दा ठूलो परोपकारी अर्बपति हुन्। –एजेन्सी