काठमाण्डौ । ठूला काम प्रायः साना कदमबाट सुरु हुन्छन्। यस कुरालाई प्रमाणित गर्ने अनगिन्ती उदाहरण छन्। 

पेमेन्ट गेटवे कम्पनी भिसा पनि त्यस्तै एउटा उदाहरण हो। आज यो कम्पनीको कारोबार २०० भन्दा बढी देशमा फैलिएको छ। यो बिना कार्डबाट पेमेन्टको कल्पना गर्न गाह्रोजस्तो देखिन्छ तर यसको सुरुआत पनि धेरै सामान्य थियो। यो कम्पनी स्थापना भएको ६४ वर्ष भयो। 

भिसा स्थापनाको ६४ वर्ष पूरा भएको अवसरमा न्युज एन्कर जोन एरलिचम्यानले केही रोचक जानकारी दिएका छन्। भिसा कम्पनी १८ सेप्टेम्बर १९५८ मा स्थापित भएको थियो। यो ६४ वर्षको यात्रामा भिसाले थुप्रै सफल हात पारेको छ। यो कम्पनीले विश्वको पहिलो क्रेडिट कार्ड जारी गर्यो। पहिलो एटीएम मेसिन जडान गर्ने श्रेय पनि यही कम्पनीलाई जान्छ।

क्रेडिट कार्ड धेरैको दिनचर्याको हिस्सा बनेको भए पनि कम्पनीले पहिलोपटक क्रेडिट कार्ड ल्याएपछि धेरैलाई यो हास्यास्पद लाग्यो। तर, त्यसपछि पनि कम्पनीले यो कामलाई अगाडि बढायो। यसको सुरुआत एउटा प्रयोगका साथ भएको थियो। जसलाई ‘द ड्रप’ नाम दिइएको थियो। यो प्रयोगअन्तर्गत क्यालिफोर्नियाका साधारण बासिन्दालाई हुलाकमार्फत ६० हजार क्रेडिट कार्ड पठाइएको थियो। कम्पनीले मानिसहरुलाई आफ्नो नयाँ पेमेन्ट सिस्टम प्रयोग गरुन् भन्ने चाहन्थ्यो। 

रातभर मानिसहरुसँग आजको ५ हजार डलरबराबर क्रेडिट लाइन थियो।। यसको मद्दतले उनीहरुले बैंकमा नगईकन खरिद गर्न र पछि त्यसका लागि भुक्तानी गर्न सक्थे।

भिसा सन् १९५८ मा बैंक अफ अमेरिकासँगको सहकार्यमा अमेरिकामा मध्यमवर्गीय उपभोक्ता र साना तथा मझौला व्यापारीका लागि कन्ज्युमर क्रेडिट कार्ड कार्यक्रम सुरु गरेको थियो। बैंक अफ अमेरिकाले ३०० डलरको सीमा भएको पेपर कार्ड सुरु गर्यो। जसलाई ‘बैंक अमेरिका कार्ड’ नाम दिइएको थियो। नेसनल बैंक अमेरिका कार्ड १९७० मा स्थापित भएको थियो र १९७३ मा पहिलो इलेक्ट्रोनिक अथोराइजेसन सिस्टम सुरु भयो। यससँगै इलेक्ट्रोनिक क्लियरिङ र सेटलमेन्ट सिस्टम पनि सुरु भएको थियो।

कम्पनीले आफ्नो व्यवसाय सन् १९७४ मा अमेरिकाबाहिर विस्तार गर्न सुरु गर्यो। सन् १९७५ मा डेबिट कार्डहरु ल्याइयो। सन् १९७६ मा बैंक अमेरिका कार्डको नाम भिसामा परिवर्तन गरियो। सन् १९८३ मा भिसाले विश्वभरका आफ्ना ग्राहकलाई चौबीसै घन्टा नगद उपलब्ध गराउन एटीएम मेसिनहरुको सुरुआत गर्यो। 

भिसाले सन् २००१ मा आफ्नो १ अर्बौं कार्ड जारी गरेको थियो। सन् २००८ मा भिसा इंक सेयर बजारमा प्रवेश गर्यो र यसले अमेरिकी बजारमा त्यतिबेलासम्मकै सबैभन्दा ठूलो आईपीओ जारी गर्यो। सन् २०१६ मा भिसा इंकले भिसा युरोप अधिग्रहण गर्यो। हाल भिसाले विभिन्न उपकरणमार्फत २०० भन्दा बढी देशमा आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। –एजेन्सी