विगत केही दिनदेखि तुवाँलोले ढाकेको आकाश कहिले खुल्छ ? त्यो मौसमविद्ले नै भन्न सक्लान्। तर सेयर बजारको आकाशमा के हुन्छ भनेर भन्न त्यत्ति सजिलो छैन। भनिहाले पनि त्यो अल्पकालका लागि भन्न धेरै मुस्किल छ। 

अहिले हरेक ब्रोकर हाउसमा लगानीकर्ताको कारोबार गर्ने शैली फेरिएको छ। पहिले डिस्प्लेमा झुम्नेहरु अहिले आफ्नै ल्यापटप र आइप्याडमा प्रत्यक्ष बजारको प्राविधिक पाटोसमेत केलाएर लगानी गरेको पाइन्छ। यो पनि बजारको विकास नै हो। 

कुल जनसंख्याको अनुपातमा डिम्याट खाता खोल्नेको संख्या दक्षिण एसियामै नेपाल भारतभन्दा अगाडि हुनुले सेयर बजार अब सहर केन्द्रित छैन भन्ने नै हो। अझै पनि आमजनमानसमा सेयर भनेको पनि सम्पत्ति हो भन्ने विषय बुझ्न र बुझाउन नियामक निकायलगायत सम्बद्ध सबैमा ठूलो सकस नै देखिन्छ। यो बु्झ्नलाई स्वयं उनीहरुलाई प्राथमिक बजारमा ल्याएर मालिक नबनाएसम्म सम्भव पनि देखिन्न। अझै पनि सेयर बजार भनेको टाठाबाठा र सुकिला र मुकिलाकै लागिमात्रै हो भन्ने भ्रम चिर्न आवश्यक छ।

हरेक बुलमा जहिले पनि बजारमा नयाँ लगानीकर्ता प्रवेश गरेका हुन्छन्। खासमा बजार बढोत्तरीमा तिनै नयाँ लगानीकर्ताको भूमिका अहम रहन्छ किनकि तिनीहरुले खरिदका लागि कहिलै पनि १–२ रुपैयाँमा बार्गेनिङ गरेका पाइँदैन। खासमा सेयर बजारको लगानी अल्पकालमा घाटा भएको देखिए पनि दीर्घकालमा लगानी गर्ने हो भने कहिल्यै पनि घाटा हुँदैन। सेयरमा दुई थरी लाभ हुन्छ। पहिलो हो हरेका वर्ष कम्पनीले दिने प्रतिफल र दोस्रो हो सेयरको मूल्य बढेर गएमा हुने पुँजीगत लाभ। 

कुन कम्पनीको सेयरको मूल्य कति भनेर कसैले पनि भन्न सक्दैन। यदि त्यो भन्न सम्भव हुन्थ्यो भने बर्कसायर हाथवे कम्पनीको सेयरमूल्य झन्डै ४ लाख अमेरिकी डलर कसरी सम्भव थियो ? बिटक्वाइनको मूल्य १ लाख पुग्ने आँकलन किन हुन्थ्यो ? 

खासमा सेयरमा लगानी गर्ने एउटा रणनीति भनेको पुँजी तथा सप्लाई कम भएको तथा भविष्य बढी भएको कम्पनी पनि हो। यहाँनेर ख्याल गर्नुपर्ने के छ भने तपाइँले आफ्नो क्षमता कति हो ? त्यस्ता कम्पनीमा आफूले कति प्रतिशत लगानी गर्ने ? यो मूल विषय हुन्छ। जबसम्म सेयर बजारमा केही मात्रामा उच्च जोखिम पनि लिन सक्किन्न उच्च मात्राको प्रतिफल पनि लिन सक्न्नि। यो ध्रुवसत्य नै हो। त्यसो भनेर आफ्नो सबै पुँजी यसमा लगाउनु पनि हुन्न। संसारकै  सेयर बजारमा यही नै हो। 

गत एक वर्षमा अमेरिकाको डाउजोन र एस एन्ड पी ५०० मा जम्मा १० प्रतिशतमात्रै नाफा देखिन्छ भने बिटक्वाइनमा जस्ता क्रिप्टोकरेन्सीमा  ९६ प्रतिशत नाफा देखिन्छ। यसको अर्थ लगानी सबै बिटक्वाइनमा गर्ने डाउजोन र एस एन्ड पी ५०० मा नगर्ने भन्न खोजिएको होइन। 

आफ्नो लगानी तथा क्षमताको २० प्रतिशतसम्म उच्च जोखिम बहन गरेर प्राविधिक तथा आधारभूत पाटोलाई पनि मध्यनजर गर्दै लगानी गरिनुपर्छ भन्ने पुष्टि यिनीहरुबाट भएको प्रतिफलले हुन्छ। 

नेपालमा पनि बैंकको सेयर बोक्दाबोक्दा हैरान हुने जमात टन्नै छ। दीर्घकालीन लगानीका लागि र आफ्नै बैंकमा राख्ने पैसामात्रै लगानी गर्नेलाई राम्रै हो। बैंकले दिने ब्याजभन्दा प्रतिफल उच्च नै हुन्छ। किनकि तपाइँको पैसाले त्यहाँ कुनै बैंकको खर्च र कर्मचारी पालिरहनु परेन। 

लगानीकर्ताले लगानी ५० प्रतिशत न्यून जोखिम, २५ प्रतिशत मध्यम जोखिम र २५ प्रतिशत अलि उच्च जोखिममा गर्दा नाफाको प्रतिशत पनि बढी हुने र जोखिमको पनि व्यवस्थापन हुने देखिन्छ। भलै बजारमा सबैको आ–आफ्नो रणनीति हुन्छ।

अहिले बजारमा लगानीकर्ताभन्दा टे«डर हावी भएको अवस्थामा लगानीकर्ता सबै नै च्याम्पियन देखिन्छ। तर सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताएजस्तै सेयर बजारमा पनि एउटाले गुमाएर अर्कोले कमाउने ठाउँ हो। यहाँ किन्नेले पनि आफूले जितेको महसुस गर्छन् भने बेच्नेले पनि आफूले जितेको नै ठान्छन्। तर यर्थाथमा एकजनाले मात्रै बाजी मारेको हुन्छ। यो भनेको अल्पकालको विषय भयो। 
लगानीकर्ताले दीर्घकालमा राम्रो कम्पनी छानेर खरिद गरे सधैँ नाफा नै हुन्छ।