काठमाण्डौ । श्रीलंका यतिबेला आफ्नो स्वतन्त्रतापछिकै सबैभन्दा गम्भीर आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ।

यतिबेला श्रीलंकामा महँगी दर १७ प्रतिशतभन्दा माथि पुगेको छ। श्रीलंकाका जनता खाद्य, पेट्रोल, ग्यास, औषधिजस्ता अत्यावश्यक सामानका लागि दैनिक संघर्ष गरिरहेका छन्। 

स्थिति यस्तोसम्म भइसक्यो मानिसहरुलाई एक कप चिया पिउनसमेत मुस्किल भइरहेको छ। 

चारैतिरबाट समुद्रले घेरिएको यो देशको अर्थव्यवस्था पर्यटन र विदेशमा काम गरिरहेका जनताले पठाएको रेमिट्यान्समा निर्भर रहँदै आएको छ। कोरोना महामारीले आम्दानीका यी दुवै क्षेत्रलाई नराम्ररी प्रभावित पार्यो। जसका कारण श्रीलंकाको अर्थतन्त्रको मेरुदण्ड नै भाँचिन पुग्यो। 

श्रीलंकासँग यतिबेला विदेशी मुद्राको भण्डार छैन। जसका कारण श्रीलंका सरकारले इन्धन, औषधि र खाद्य सामाग्री खरिद गर्न सकिरहेको छैन। विदेशी मुद्राको भण्डारलाई बचाउनका लागि श्रीलंकाले सन् २०२० मार्च विदेशबाट आयात हुने वस्तुहरुमा रोक लगाएको थियो। अहिले महँगी दर १७.५ प्रतिशत पुगेको छ। 

थर्मल पावर प्लान्टसँग इन्धन छैन। जसका कारण दैनिक १० घन्टा लोडसेडिङ भइरहेको छ।

श्रीलंकामाथि ५१ अर्ब डलरको ऋणको भारी छ। क्रेडिट एजेन्सीहरुका अनुसार यो ऋणको भरी तिर्न श्रीलंका असमर्थ हुन सक्छ। 

भ्रष्टाचारले आगोमा घिउ थप्ने काम गर्यो

श्रीलंकामा अहिले देखिएको संकट अचानक उत्पन्न भएको भने होइन। श्रीलंकामा वर्षौंदेखि मौलाइरहेको भ्रष्टाचारको असर त्यहाँको अर्थतन्त्रमा देखिन थालेको छ। सरकारको भ्रष्ट नीतिहरुको सजाय जनताहरु भोग्न बाध्य भइरहेका छन्। यतिबेला सीमित राजनीतिक घरानाको हातमा देशको सम्पूर्ण अर्थव्यवस्थाको बागडोर पुगेको छ। आममानिसहरुसँग पैसा छैन र जोसँग पैसा छ, त्यसको मूल्य नै छैन। एक किलो दूधको पाउडरको मूल्य ८०० श्रीलंकन रुपैयाँ पुगेको छ। तरकारी, दूध र खाद्यसामग्रीको मूल्य आकाशिएको छ। 

दमनको नीति अपनाउँदै सरकार

देशमा बढ्दो आर्थिक संकटबाट आजित भएका जनताहरुको आक्रोश सडकमा पोखिन थालेको छ। मानिसहरु सरकारको विरोधमा आन्दोलन गरिरहेका छन्। तर, श्रीलंका सरकार आफूविरुद्धको आवाज दबाउने रणनीतिमा उत्रिएको छ। सरकारविरुद्ध बोल्नेलाई निशाना बनाइएको छ। जनताको विरोध प्रदर्शनहरुको सरकारमाथि खासै असर परेको देखिँदैन। 

आर्थिक संकटको प्रभाव पर्यटन क्षेत्रमा 

श्रीलंकाको विदेशी मुद्राको मुख्य स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रमा आर्थिक संकटको प्रभाव देखिन थालेको छ। दैनिक १० घन्टासम्म भइरहेको लोडसेडिङले होटेलहरुमा विद्युत आपूर्तिको समस्या देखिएको छ। जसका कारण पर्यटकहरुलाई श्रीलंकामा बस्न कठिनाई भइरहेको छ। उनीहरुले आफ्नो श्रीलंका बसाइलाई छोट्याइरहेका छन्। विदेशी मुद्रा सटहीमा समस्या हुन सक्ने भन्दै विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई श्रीलंका भ्रमण नगर्न सुझाव दिइरहेका छन्। 

अधिक नोट छपाइले मूल्यमा गिरावट

श्रीलंकाले अर्थतन्त्र उकास्न थापेको अधिक नोटका कारणसमेत अहिलेको अवस्था सिर्जना भएको विश्लेषकहरु बताउँछन्। अधिक नोट छाप्दा ब्याजदर वृद्धि भएको छ। अन्तर्राष्ट्रिय वित्तीय संघसंस्था तथा देशहरुबाट लिइएको ऋण बढ्दै गइरहेको छ। ऋण तिर्नका लागि श्रीलंका सरकारले थप ऋण लिइरहेको छ। जुन अर्थतन्त्रका लागि हानिकारक हुने देखिन्छ। 

श्रीलंकाको वर्तमान आर्थिक संकट एक वर्ष अघिदेखि नै देखिन थालेको हो। सरकारले संकट समाधानका लागि सल्लाहकारहरुको थुप्रै समितिहरु बनाएको छ। तर, यस्ता समितिहरुले कुनै ठोस उपाय निकाल्न सकेका छैनन्। –एजेन्सी