काठमाण्डौ । श्रीलंकाका जनता र विपक्षी दलले देशले भोगिरहेको गम्भीर आर्थिक संकटका लागि राजपक्षे सरकारलाई जिम्मेवार ठहराइरहेका छन्। 

अनियन्त्रित भइरहेको महँगी र खाद्यान्न अभावबाट आक्रोशित भएका श्रीलंकाका जनताले बिहीबार राति राष्ट्रपति गोताबाया राजपक्षेका निवासबाहिर चर्को आन्दोदन गरे। शान्तिपूर्ण तरिकाले सुरु भएको आन्दोलन प्रहरीको हस्तक्षेपपछि हिंसात्मक बन्न पुग्यो। 

श्रीलंका जनता राजपक्षे सरकारप्रति निकै आक्रोशित बनेका छन्। श्रीलंकाको सत्ताको शिखरमा दशकौँदेखि राजपक्षे परिवकारको शासन छ। राजपक्षे परिवारका चारजना दाजुभाइले लामो समयदेखि श्रीलंकाको सत्ताको बागडोर आफ्नो हातमा लिएका छन्। उनीहरुलाई निरंकुश बनेको र मिलेर देशको अर्थतन्त्र तहसनहस पारेको आरोप लाग्दै आइरहेको छ। 

राजपक्षे परिवारको नीति र निरंकुशताका कारण बर्बाद बनेको हो श्रीलंका ?

राजपक्षे परिवारले श्रीलंकाको क्षेत्रीय राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको थियो। सन् २००५ मा महिन्द्रा राजपक्षे देशको राष्ट्रपति चुनिएका थिए। यसपश्चात राजपक्षे परिवारका सदस्यहरु शासन सत्ताको महत्वपूर्ण पदमा आसिन हुन थाले। राष्ट्रपति भएपछि महिन्द्रा राजपक्षेले आफ्ना कान्छा भाइ र हालका राष्ट्रपति गोताबाया राजपक्षेलाई रक्षा सचिव नियुक्त गरे। 

त्यस्तै उनले आफ्ना अर्का भाई बासिल राजपक्षेलाई राष्ट्रपतिको मुख्य सल्लाहकार नियुुक्त गरे। 

महिन्द्रा राजपक्षे सन् २०१० मा पुनः राष्ट्रपति चुनिए। दोस्रो कार्यकालमा जेठा भाइ चमल राजपक्षेलाई पनि सत्तामा महत्वपूर्ण स्थान दिइयो र उनी कयौँपटक मन्त्री बनिरहे। जसका कारण राजपक्षे परिवारमाथि परिवारवाद, निरंकुशता र सरकारी स्रो साधनको गलत प्रयोगको आरोप लाग्न थाल्यो। 

एक समय त राजपक्षे परिवारले देशको ७० प्रतिशत बजेटमाथि प्रत्यक्ष नियन्त्रण राखेको भन्नेसम्म आरोप लाग्यो। 

यी र यस्तै आरोप–प्रत्यारोपका कारण सन् २०१५ मा महिन्द्रा राजपक्षेले राष्ट्रपतिको चुनाव हारे। तर, सन् २०१९ मा पुनः राजपक्षे परिवार देशको सबैभन्दा ठूलो पदमा आसिन हुन सफल भयो। यसपटक भने महिन्द्रा राजपक्षेका भाइ गोताबाय राजपक्षे राष्ट्रपति चुनिए। उनी सत्तामा आउनेबित्तिकै उनका दाइ महिन्द्रा राजपक्षे प्रधानमन्त्री चुनिए। 

अहिले गोताबायका भाइ बसिल राजपक्षे अर्थमन्त्री र चमल राजपक्षे कृषिमन्त्री छन्। चमल सन् १९८९ देखि नै श्रीलंकाको सांसद छन्। महिन्द्रा राजपक्षेका छोरा नमल राजपक्षे श्रीलंकाका युवा तथा खेलकुदमन्त्री छन्। राजपक्षे परिवारका लगभग ७ जना सदस्य श्रीलंकाको सत्ताको उच्च पदमा आसीन छन्। जसलाई लिएर विपक्षीसहित आम मानिसहरुमा आक्रोश देखिन्छ।

गोताबाय राजपक्षेमाथि समेत निरंकुशताको आरोप लाग्दै आइरहेको छ। उनको विरोध गर्ने मन्त्रीहरुलाई राजीनामा दिन लगाइने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ। 

यस्तै एउटा घटना केही समयअघि श्रीलंकाका प्रमुख सांसद विजेदास राजपक्षेसँग घटेको थियो। उनी राजपक्षे सरकारमा न्याय तथा शिक्षामन्त्री थिए। उनी श्रीलंकामा चीनको कर्जा नीति र सरकारको खराब आर्थिक नीतिहरुको ठूला आलोचक हुन्। 

हङकङ पोस्टका अनुसार यही कारण विजेदासले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो। सांसद विजेदास अहिले पनि सरकारको आलोचना गर्न पछि पर्दैनन्। 

त्यस्तै श्रीलंकाका विपत तथा विदेशी मुद्रा संकटकाबीच केन्द्रीय बैंकका प्रमुखले समेत आफ्नो पद त्यागेका छन्। 

श्रीलंकामा अहिलेको आर्थिक संकट एकाएक देखिएको भने होइन। विश्लेषकहरुका अनुसार यसको सुरुआत सन् २००७ मा तत्कालीन सरकारले लिएको वैदेशिक ऋणबाट सुरुवात भएको हो। जुन अहिले देशको कुल ऋणको ३८ प्रतिशत छ र यसमा चीनको ऋणको हिस्सा १० पं्रतिशत छ। 

केही समयअघि आईएमएफको सर्तबमोजिम श्रीलंकाका अधिकारीहरुले श्रीलंकाको मुद्राको मूल्य घटाउन र कर्जाको लागत बढाउन अनुमति दिएका थिए। तर, विज्ञहरुले यो कदमको आलोचना गरेका छन्। विज्ञहरुले कर्जा पुनर्संरचना प्रमुख प्राथमिकता हुनुपर्ने र त्यपछि मात्रै मुद्राको मूल्य घटाउने र कर्जाको लागत बढाउने कदम चाल्नुपर्ने बताएका छन्। 

अर्गानिक खेतीका कारण श्रीलंकामा खाद्यान्न संकट

यतिबेला श्रीलंकामा सबैजसो सामानहरुको अभाव छ। एक किलो चामलका लागि मानिसले ५०० श्रीलंकन रुपैयाँ तिर्नुपरिरहेको छ। चिनीमा समेत यस्तै अवस्था छ। फलफूल र तरकारीहरु निम्न र मध्यम वर्गका जनताको पहुँचबाट टाढा भइसकेको छ। 

बढ्दो महँगीका कारण जिउन मुश्किल भएपछि सयौँ मानिसहरु भारतमा आश्रय लिइरहेका छन्। गम्भीर खाद्य संकटका लागि मानिसहरुले सरकारको गलत नीतिलाई जिम्मेवार ठहराइरहेका छन्। 

सन् २०२१ अप्रिलमा श्रीलंका सरकारले देशको अर्गानिक खेतीलाई बढावा दिनका लागि रासायनिक मल र किटनाशक औषधिहरुमा पूर्ण प्रतिबन्ध लगायो। कृषिमा अचानक गरिएको निर्णयले देशको कृषि उत्पादनमा भारी गिरावट आयो। 

श्रीलंकाका करिब ९० प्रतिशत किसानले रासायनिक मलको प्रयोग गर्दै आइरहेका थिए। तर, सरकारको निर्णयले उनीहरुको उत्पादकत्वमा गिरावट आयो र विस्तारै खाद्य अभाव देखिन थाल्यो। 

इन्धन अभाव र विद्युत कटौती

यतिबेला श्रीलंकामा इन्धनको चरम अभाव छ। पेट्रोल–डिजेलको अभावका कारण सरकारी र निजी दुवै यातायात बन्द छन्। इन्धन अभावका कारण अधिकांस पेट्रोल पम्पहरु बन्द छन् भने खुला रहेकामा समेत सेना परिचालन गरी इन्धन वितरण गरिँदैछ। तेलको लाइनमा बसेका दुईजनाको मृत्यु भएपछि सरकारले सेना परिचालन गरेर तेल वितरण गरिरहेको छ। 

थर्मल पलान्ट सञ्चालन गर्नका लागि इन्धन अभाव भएका कारण श्रीलंका सरकारले १३ घन्टा विद्युत कटौती गरिरहेको छ। विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन आयात गर्न सकिरहेको छैन। – एजेन्सी