काठमाण्डौ । मानिसको संवेदनशील अंगमध्ये टाउको प्रमुख हो । टाउकोमा कतै सानो चोट लाग्दा समेत मानिसको मृत्यु भएका कयौं उदाहरण छन् । तर त्यही टाउकोभित्रको खप्पर सर्लक्कै निकालेर पनि मान्छे जिवित बन्नसक्छ भन्ने कुरा तपाईंलाई पत्यार नलाग्ला । यस्तै एउटा अचम्मको घटना भएको छ, त्यो पनि नेपालमै । पूजा चौधरी नामकी एक युवती अहिले खप्परविहीन अवस्थामा समेत जिवितै छिन् र उनको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।  

सुनसरीको चक्रघट्टी–७ स्थायी घर भएकी पूजा एक सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा चिकित्सकले खप्पर निकालेर आइसियूमा राखेका छन् र उनी चाहि खप्परविहीन भएका कारण चेप्टिएको र नेप्टिएको टाउको लिएर अस्पतालको बेडमा जिउँदै बाँचिरहेकी छिन्, त्यो पनि सामान्य मानिस झै । 
 
पूजा चौधरी प्लस टु पढ्दै गरेकी युवती हुन् । आफ्नो भरिलो टाउको भए पुरानो फोटो पूजाका लागि अब इतिहास बनेको छ । पूजा हाल दुर्घटनामा परी उपचारका क्रममा ग्राण्डी अस्पतालको ८ नं. फ्लोरको ८२० नं. रुममा छिन् । धादिङ आबुखैरेनीमा आमा दुर्गा चौधरीको साथमा बस्दै आएकी पूजा हरेक दिन कलेज जाने÷आउने गर्थिन्, दिउँसो आमालाई काम सघाउँथिन् । फागुन २७ गतेको त्यो दिन पूजा नसोचेको दुर्घटनामा परिन् । दिउँसो २ बजेको थियो भर्खरै कलेजबाट फर्किएकी थिइन् । घरअगाडि आँगनबाट कुदेको विहेको जन्ती बोकेको माइक्रोले उनलाई ठक्कर दियो र भाग्यो । त्यसपछि के भयो केही थाहा छैन पूजालाई । जब सिन्केश्वरी जनरल हस्पिटलमा उनको प्राथमिक उपचार भयो, त्यसपछि बल्ल उनको होस खुल्यो, अनि आफूलाई आबुखैरेनीस्थित हस्पिटलमा पाइन् । हस्पिटलले प्राथमिक उपचारबाहेक केही गर्न नसक्ने बताएर ग्राण्डी अस्पताल रिफर गरिदियो ।

त्यतिञ्जेलसम्म गाडीका मालिक अम्बर गुरुङ आइसकेका थिए र पूजाको अवस्था देखेर आत्तिएका गुरुङले सुरुमा त ग्राण्डी लैजान सुझाए । एम्बुलेन्स मार्फत् पूजालाई ग्रान्डी अस्पताल लगिन् आमाले । 

ग्राण्डी अस्पतालले पूजाको तत्काल अप्रेसन गर्नुपर्ने बतायो । टाउकोमा नराम्रो ठक्कर परेका कारण चारैपट्टिको खप्पर झिक्नुपर्ने बताएपछि एकछिन त आमा अत्तालिइन । तर चिकित्सकले सम्झाएपछि आफ्नी छोरी बचाउन तयार भइन । पूजालाई तुरुन्तै अप्रेसन थिएटरमा लगियो, जहाँ उनको चारैवटा खप्पर निकालियो । टाउको केही दुखेजस्तो लाग्यो पूजालाई अनि छामिन्, उनी झसङ्ग भइन, टाउकोको चारैतर्फको भाग खाल्डो भएजस्तो लाग्यो ।  

खप्परविहीन भएका कारण पूजा मात्र होइन, उनका अभिभावक समेत विक्षिप्त भएका थिए, तर पूजा निको हुने आशामा उनीहरुले चिकित्सकका सबै सल्लाहमा सहीछाप गरिदिए । 

उनको टाउकोमा गहिरो चोट लागेकाले उनको चारैपट्टिको खप्पर अप्रेशन गरी निकाल्नुपर्ने, त्यसो गर्दा टाउकोको घाउ निको भएपछि खप्पर सकुशल जोड्न सकिने चिकित्सकको भनाई छ । हप्तौदेखि पूजाको खप्पर आइसियूमा राखिएको छ । उनी अस्पतालको शैयामा छिन् । २४ घण्टै आमा दुर्गा उनको स्याहारमा बस्छिन् । उनको टाउकोमा चारैपट्टि खाल्डो देखिन्छ ।

माइक्रो सञ्चालकले उपचारका लागि भनेर ग्राण्डी अस्पताल लगेको भोलिपल्ट जम्मा ९५ हजार दिए पनि त्यसपछि माइक्रो चालक सम्पर्कमा नआएकाले बाँकी उपचारमा समस्या आएको पूजाले बताइन् । ‘गाडीका साहुलाई फोन गर्दा किन महंगो अस्पताल लगिस् अनि अर्को सस्तो अस्पताल किन रिफर गरिनस् ? भनेर उल्टै धम्क्याउँछन् कसरी यत्तिका बिल तिर्नु ? अस्पतालले हरेक दिन पैसा बुझाउनुस् भन्छ ।’–पूजाले भनिन् । शुक्रबार मात्रै १५ लाख ९६ हजार दुईसय १५ रुपैयाँको बिल थमाइदिएको छ । ‘अब मैले कसरी यत्तिका पैसा तिर्ने ?’ खप्परविहीन पूजाले रुँदै भनिन् । 

पूजाका बुबा अर्की पत्नी ल्याएर अन्तै बस्न थाले । छोरी ठूलो दुर्घटनामा पर्दा समेत उनी एकपटक समेत भेट्न आएनन् । ‘क्षतिपूर्ति दिनुपर्ने मानिस भागेर हिँडिरहेको छ, प्रहरीलाई धेरैपटक गुहारिसक्यौ ।’ पूजाले भनिन्–‘मानवाधिकार आयोगमा पनि उजुरी दिए अहिलेसम्म कसैले क्षतिपूर्तिका लागि पहल गरिदिएनन् ।’

पूजा आफू पूर्ण ठीक भएर कक्षा १२ को परीक्षा दिन चाहन्छिन । उनले संवाददातासँग बलिन्द्र आँसुको धारा बगाउँदै भनिन्–‘कृपया मलाई बचाइदिनुहोस् । मेरो खप्पर जोडिएपछि म पहिलेजस्तै बन्छु अनि मेरा सारा सपना पूरा गर्छु ।’