काठमाण्डौ । माघ महिना लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २९ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा माघ ५ गतेसम्म घटेर ४८ खर्ब ७४ अर्ब रुपैयाँमा झरेको छ। 

यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि २० अर्ब रुपैयाँले घटेर ४३ खर्ब ४ अर्ब रुपैयाँ झरेको छ। पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो।

माघ लागेयता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि ६ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ६६ अर्ब रुपैयाँ रहेकोमा माघ ५ गतेसम्म घटेर ४६ खर्ब ६० अर्ब रुपैयाँमा झरेको छ।

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी माघ ५ गतेसम्म ४१ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ। गत पुस ३० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले माघ लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ। 

माघ ५ सम्म बैंकहरुको औसत सीडी रेसियो ९०.०४ प्रतिशत रहेको छ। गत पुस ३० गतेसम्म सीडी रेसियो ८९.६४ प्रतिशत थियो। सीडी रेसियो पनि थोरै बढेको छ। 

राष्ट्र बैंकका अनुसार अन्तरबैंक ब्याजदर भने माघ ५ मा ४.९७ पुगेको छ।