– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट साउन २३ गते मर्जर तथा प्राप्तिका लागि सैद्धान्तिक सहमति पाएका हिमालयन बैंक र सिभिल बैंकले अहिले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) लाई प्राथमिकता दिएका छन्। 

दुबै बैंकले आगामी महिना अर्थात कात्तिकभित्रै डीडीए सक्ने गरी कार्य गरिरहेको स्रोत बताउँछ। ‘अहिले दुवै बैंकले आन्तरिक काम गरिरहेका छन्’, स्रोतले भन्यो ‘त्यसैले कात्तिक १५ गतेदेखि २० गतेभित्र सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) तयार हुनसक्छ।’

स्रोतका अनुुसार दुुवै बैंकले हाल एचआर, इन्ट्रिगेसनलगायतका कार्य गरिरहेका छन्। ती कार्य सकिएसँगै दुवै बैंकले विशेष साधारणसभा डोकेर मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पारित गर्नेछन्। त्यसपछि राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि जानेछन्। 

हिमालयनले सिभिल बैंकलाई १००ः ८१ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो। यी दुई बैंकबीच असार २९ गते प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट  अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए। 

सम्झौताअनुसार प्राप्तिपछि बैंकको नाम हिमालयन बैंक लिमिटेड रहनेछ भने सञ्चालक समितिमा पनि हिमालयनकै सञ्चालक रहनेछन्।

यस्तै सीईओमा पनि हिमालयन बैकका अशोक शमशेर राणा रहनेछन्। सिभिल बैंकका सीईओ सुनिल पोखरेलले वरिष्ठ डेपुटी सीईओको जम्मेवारी सम्हाल्नेछन्। 

हाल हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। सिभिल बैंकको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ८९० रुपैयाँ रहेको छ । प्राप्तिपछि बैंकको कुल चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ। 

त्यसैगरी ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके), प्रभु बैंक र सेन्चुरी कर्मसियल बैंकले पनि डीडीएकै काम गरिरहेका छन्। मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको डीडीए भने तयार भइसकेको छ। यी दुई बैंक पुस १५ गतेपछि एकीकृत कारोबार गर्नेगरी अघि बढिरहेका छन्।

यता कुमारी बैंक र एनसीसी बैंकबीच यही असोज १० गते समान हैसियतमा (१ः१) को स्वाप रेसियोमा मर्जरसम्बन्धी समझदारी भएको थियो। राष्ट्र बैंकबाट मर्जरमा जाने सैद्धान्तिक सहमति पाएपछि यी बैंकले डीडीएको कार्य गर्नेछन्।