काठमाण्डौ । गत माघको अन्तिम साता आईपीओ बिक्री गरेको इमर्जिङ नेपाल लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा यही साताभित्र आउने सम्भावना प्रबल देखिएको छ। 

यो कम्पनीको आईपीओ सूचीकरणका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगिसकेको छ। नेप्सेले सम्भवतः बुधबारमा सूचीकरण सम्झौता गर्न कम्पनीलाई बोलाउने तयारी भइरहेको नेप्सेकै एक अधिकारीले जानकारी दिए। 

यदि यो कम्पनीको आईपीओ बुधबार नेप्सेमा सूचीकृत भएमा बिहीबारबाटै सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। ‘यदि बिहीबार सूचीकरण सम्झौता भयो भने आइतबारबाट मात्रै यो कम्पनीको सेयर कारोबारमा आउने सम्भावना छ’, ती अधिकारीले भने।

नेप्सेमा सूचीकृत भई पहिलो कारोबारका लागि यो कम्पनीले न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतममा ३१५.३३ रुपैयाँ ओपनिङ रेन्ज पाउनेछ। यदि स्पेसल प्रि–ओपन सेसनमा तोकिएको रेन्जभित्र सेयर किनबेच भएमा नियमित समयका लागि यो कम्पनीको सेयर कारोबारमा आउनेछ। 

यो कम्पनीले गत माघ २६ गतेबाट फागुन १ गतेसम्म ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले यो आईपीओ गत फागुन ४ गते बाँडफाँड गरेको थियो।