काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही वैशाख २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल फाइनान्सलाई गत चैत ८ गते १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएको हो। 

नेपाल फाइनान्सले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्रद जारी गर्नेछ। यद्यपि कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन। 

नेपाल फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

हाल कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको छ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ।