काठमाडौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि इकाइधनीहरुलाई वितरण गर्ने भनी घोषणा गरेको नगद लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यो फन्डको नगद लाभांश प्रयोजनार्थ यही साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन १४ गतेसम्म कायम इकाइधनीहरुले मात्र यो फन्डका लागि घोषित नगद लाभांश पाउने छन्।

लक्ष्मी क्यापिटलको हिजो बिहीबार बसेको सञ्चालक समितिका बैठकले यो फन्डका इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। 

यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो। यो कोषको लाभांश प्रयोजनार्थ पनि क्यापिटलले साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १२ गतेसम्म कायम इकाइधनीहरुले यो कोषको नगद लाभांश पाउन योग्य हुनेछन्।