काठमाण्डौ । ‘नेपाली कांग्रेसको अबको सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा वीपी पुत्र सशांक कोइरालाले जित्दैछन्’, अहिले काठमाण्डौका बजार, सडक र गल्लीहरुमा यो हल्ला भूसको आगो झै फैलिएको छ । अझ कांग्रेसको १३ औं महाधिवेशनका प्रतिनिधि बसेका होटल, उनीहरुको बाक्लो जमघट हुने क्षेत्रमा त यो हल्ला भाइरल नै बनिरहेको छ । अहिले प्रतिनिधिहरु नै आपसमा प्रश्न प्रतिप्रश्न गर्न थालेका छन्–‘के देउवा र कोइरालाले नै बाजी मार्ने अवस्था हो ?’ धेरैलाई भ्रममा पार्न खोजे पनि देउवा र कोइरालाले जित्दैछन् भनेर नियोजित ढंगले नै हल्ला फैलाइएको र यसमा ठूलै शक्तिको चलखेल रहेको स्रोतहरुले दाबी गरेका छन् । आखिर यस्तो हल्ला मतदानको मुखमा कस्ले फैलायो होला ?

समाचार स्रोतका अनुसार शेरबहादुर देउवा र सशांक कोइरालाले बाजी मार्दैछन् भन्ने हल्ला विभिन्न शक्तिकेन्द्रहरुले नियोजित ढंगले नै फैलाएका हुन् । उनीहरुले हल्लालाई अझ धेरै भाइरल बनाई मतदाताहरुको मानसपटलमा प्रभाव पार्ने र जसरी भए पनि शेरबहादुर देउवा र सशांक कोइरालालाई जिताउने रणनीति लिएका छन् । यसरी नियोजित हल्ला फैलाइनु र विभिन्न भारतीय तथा नेपाली शक्तिकेन्द्र समेत देउवा र सशांक कोइरालाको पक्षमा लाग्नु पछाडि निकै ठूलो राजनीतिक ग्राण्ड डिजाइन रहेको उच्च स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार नेपाललाई हिन्दू राष्ट भएको हेर्ने भारतीय संस्थापन पक्षको चाहना देउवा र कोइरालाबाट मात्र सहज ढंगले संभव हुने शक्तिकेन्द्रको बुझाई छ । यही बुझाईका कारण भारतीय जनता पार्टीका केही नेताहरुको दवाबमा विभिन्न शक्तिकेन्द्रहरुलाई कांग्रेस महाधिवेशनको मुखमा परिचालन गरिएको छ । 'तिनै शक्तिकेन्द्रबाट परिचालितहरुले अहिले सभापतिमा देउवाले जित्ने र महामन्त्रीमा चाहि सशांकले जित्ने हल्लालाई व्यापक बनाएका छन् ।' स्रोतले भन्यो-'यसभित्रको स्वार्थ भनेको हिन्दू राष्ट कायम गराउने र केही समयपछि राजतन्त्र पुनस्र्थापना गर्ने ठूलो ग्राण्ड डिजाइन हो ।' 

उच्च स्रोतका अनुसार भारतीय संस्थापन पक्षले राजतन्त्र पुनस्र्थापनाको मुद्धामा रामचन्द्र पौडेल भन्दा शेरबहादुर देउवालाई बढी विश्वास गर्छ । देउवा दरबारिया हुन्, उनी आफैँ समेत राजतन्त्र पुनस्र्थापनाको पक्षमा छन् । उनले यसअघि विभिन्न बैठक तथा छलफलहरुमा समेत राजाको आवश्यकता औंल्याउँदै सार्वजनिक अभिव्यक्ति समेत दिने गरेका थिए । यसैगरी, महामन्त्रीका उम्मेद्वार सशांक कोइराला समेत कट्टर राजावादी हुन् । उनले त उम्मेद्वारी दिनुअघि बीबीसीलाई अन्तर्वार्ता दिंदै घुमाउरो ढंगले राजतन्त्र पुनस्थार्पना र राजतन्त्रको आवश्यकताको बिषयमा आफ्नो धारणा नै राखेका थिए । नेपालको समृद्धिका लागि हिन्दू राष्ट र राजतन्त्र हुनैपर्ने उनको भित्री अडान छ । देउवा र कोइरालाको हिन्दू राष्ट र राजतन्त्र पुनस्र्थापनामा कुरा मिल्ने भएकोले फरक फरक प्यानलबाट उठे पनि स्वदेशी तथा विदेशी एजेन्सी तथा तिनका प्रतिनिधि खुलेरै उनीहरुको पक्षमा माहौल सिर्जना गर्ने दौडमा लागेका छन् ।

देउवालाई नेतृत्वमा ल्याउनैका लागि भारतीय पक्षकै निर्देशनमा संस्थापनका प्रभावशाली मानिएका नेता कृष्ण सिटौलाले सभापतिमा उम्मेद्वारी दिएको समेत स्रोतको बुझाई छ । सिटौलाले संस्थापनको भोट काट्ने र त्यसले रामचन्द्र पौडेललाई असर गरी देउवाको जित सुनिश्चित हुने शक्तिकेन्द्रहरुको बुझाई छ । सिटौलाले समेत आफू निकै कमजोर हुँदा हुँदै पनि रामचन्द्रलाई कुनै पनि हालतमा सभापति बन्न नदिने उद्घोषसहित उम्मेद्वारी घोषणा गर्नुमा समेत यिनै शक्तिकेन्द्रहरुको खेल रहेको बुझिएको छ । पछिल्लो समय एक ब्रोडसिट दैनिकले गरेको नमूना मत सर्वेक्षणको क्रममा सिटौलाको पक्षमा निकै कम मत खसेको थियो । सिटौला आफैँलाई समेत आफ्नो निकै शर्मनाक हार हुने आँकलन भए पनि उनी बलीको बोको बन्न खोज्नुको पछाडि समेत यस्तै खेल रहेको बुझिएको छ । 

स्रोतका अनुसार शक्तिकेन्द्रहरुले केही दिनअघि देउवा निवासमा सिटौला, गगन थापा लगायतका नेताहरुको सहभागितामा छलफल आयोजना गरेका थिए । सो क्रममा अहिले सिटौलाले संस्थापनकै नेता भएर सभापतिमा उम्मेद्वारी दिने र रामचन्द्र पौडेललाई कुनै पनि हालतमा हराउने योजना तय गरिएको थियो । देउवाले जितेपछि महासमिति बैठक बोलाएर पार्टीको बिधान संसोधन गरी सिटौलालाई उपसभापति बनाउने गरी पदाधिकारीको संख्या थप गर्ने सम्झौता समेत भएको बुझिएको छ । 

अर्कोतर्फ संस्थापनबाट देउवा प्यानलमा प्रवेश गरी महामन्त्रीको उम्मेद्वारको रुपमा प्रस्तुत भएका कांग्रेसका लोकप्रिय र प्रभावशाली नेता अर्जुन नरसिंह केसीलाई समेत कमजोर पार्ने खेल शक्तिकेन्द्रहरुबाट खेलिएको स्रोतको दाबी छ । युवादेखि बूढा कांग्रेसीमाझ लोकप्रिय रहेका केसीले महामन्त्रीमा जिते आफूहरुको राजतन्त्र पुनस्र्थापनाको मुद्धा कमजोर हुने ठानेका शक्तिकेन्द्रहरुले उनको पारिवारिक मत समेत काटिइने आँकलनसहित ज्वाई गगन थापालाई सिटौला प्यानलबाट महामन्त्रीमा प्रस्तुत गरेका छन् । गगनको उम्मेद्वारीले केसीको मत काटिइने र त्यसले सशांकलाई जित्न सहज हुने शक्तिकेन्द्रको बुझाई भए पनि महाधिवेशन प्रतिनिधिहरुबीचमा चलेको लहर र केसीको पक्षमा देखिएको जनमतले सो खेल सफल हुने संभावना निकै क्षीण छ । महामन्त्रीका तीन उम्मेद्वारमध्ये देशभरिका कार्यकर्तालाई नामैले बोलाउने क्षमता र स्मरणशक्ति भएका केसी चुनावी दौडमा निकै अगाडि रहेका छन् । उनलाई हराउन शक्तिकेन्द्र लागे पनि उनको उचो व्यक्तित्वका कारण अन्ततः देउवालाई पनि राम्रै फाइदा पुग्ने देखिन्छ । 

भारतीय संस्थापन पक्षबाट परिचालित शक्तिकेन्द्रहरुकै इशारामा महाधिवेशनको मुखमा देउवा प्यानलमा कट्टर राजावादी नेता खुमबहादुर खड्का समेत समाहित भएका छन् । गोविन्दराज जोशी लगायतका नेताले समेत देउवालाई साथ दिनुमा राजतन्त्र पुनस्र्थापनाकै डिजाइन रहेको समेत स्रोत बताउँछ ।