काठमाण्डौ । पार्टी सभापति सुशील कोइरालाको अप्रत्यासित निधन भएकै दिन उनको कुर्सीमा बस्ने हानाथापमा पार्टी उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता लागिरहेको बेला र १३ दिने शोक समेत नसकिँदै सार्वजनिक रुपमै गुटको राजनीति तीव्र बनाइएको बेला पार्टीमा केही समयअघिदेखि ‘कांग्रेस बचाउ अभियान’ संचालन गरिरहेको तेश्रो समूहले सभापति लगायतका पदमा उम्मेद्वारी दिने तयारी सुरु गरेको छ । 

पार्टी सभापति कोइरालाको १३ औं दिनको काम नसकिँदै उम्मेद्वारी घोषणा गर्दा नराम्रो सन्देश जाने भन्दै अहिले यो समूहले अनौपचारिक छलफल मात्र जारी राखेको छ । सो क्रममा नेपाली कांग्रेसलाई ४० र ६० को भागबण्डा र घिनलाग्दो गुटगत राजनीतिबाट बचाउने उद्देश्यसहित सुरु भएको तेश्रो शक्तिबाट पार्टीका पुराना नेता, पूर्वमन्त्री रामकृष्ण ताम्राकार कांग्रेसको १३ औ महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने टुंगो लागेको स्रोतको भनाई छ । 

ताम्राकार हाल पार्टीको केन्द्रीय सदस्य छन् भने उनी पटक पटक मन्त्री भइसकेका नेता हुन् । गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा ताम्राकार पार्टीमा कोषाध्यक्षको रुपमा कार्यरत थिए । उनी कोषाध्यक्ष हुँदा नै अहिलेको पार्टी कार्यालय निर्माण संभव भएको थियो । पार्टीमा समेत राम्रो छवि बनाएका ताम्राकारको नेतृत्वमा कांग्रेसभित्रका स्वच्छ छवि भएका र गुटगत राजनीतिमा असहमति राख्नेहरुले देश, जनता र कार्यकर्ताले समेत नयाँ सन्दर्भमा नयाँ नेतृत्व खोजेको दाबी गर्दै त्यसका लागि आफूलाई प्रस्तुत गर्ने तयारी थालेको हो । 

पार्टी सभापतिको रुपमा उम्मेद्वारी दिने तयारीमा रहेका ताम्राकारले बिजशालासँग टेलिफोनमा कुरा गर्दै देशभरिका साथीहरुले पार्टी बचाउने अभियानका साथ सभापतिमा उम्मेद्वारी दिनुपर्ने सुझाव दिएकोले आफू त्यसका लागि तयार रहेको र सभापति कोइरालाको १३ औं दिनको काम सकेर औपचारिक घोषणा गर्ने बताए । 

ताम्राकार नेतृत्वको समूहले गत मंसिर १२ गते राजधानीमा एक भव्य कार्यक्रम गरी पार्टीभित्रको गुट र भागबण्डाको राजनीति अन्त हुनुपर्ने भन्दै पार्टी बचाउ अभियानको घोषणा गर्दै आफ्नो टिमलाई सशक्त रुपमा अगाडि बढाउने घोषणा गरेको थियो । उनीहरुको कार्यक्रममा धेरै जिल्लाका कांग्रेस नेताहरुको सहभागिता र समर्थन थियो । यो समूहले महाधिवेशनअघि समेत राजधानी र अन्य केही शहर केन्द्रीत जागरण अभियान संचालनको तयारी समेत थालेको छ। 

महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तालाई सजग गराउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने र उनीहरुमाझ आफ्ना एजेण्डा लैजाने तयारी गरिरहेको यो समूहका सभापतिको उम्मेद्वार भनिएका ताम्राकारले विगतमा पार्टीको नेतृत्व देश र जनताको समस्या समाधान गर्न चुकेको र भागबण्डा तथा पैसा तथा पावरको पछि मात्र लागेको भन्दै अब नयाँ नेतृत्वको आवश्यकतामाथि जोड दिए । ‘विगतको पार्टी नेतृत्वमा संवेदनहीनता चरम भयो, राष्ट्रियता, लोकतन्त्र र जनताका सवालप्रति नेतृत्व गैरजिम्मेवार बन्यो ।’ ताम्राकारले भने–‘आ–आफ्नो गुटमा लाग्दा पार्टी एक हुन सकेन ।’ 
देश, जनताको समस्या समाधान गर्न पछिल्लो अवस्थाको पार्टी नेतृत्व असफल बनेको समेत उनको आरोप छ । ‘महानायकहरुले कांग्रेसको नेतृत्वकर्ताको रुपमा स्थापना गरेका आदर्शलाई नेताहरुले भूल्ने काम गरे ।’ उनले भने–‘सबै कुर्सीको खेलमा लागे, आफन्तलाई पोस्ने अभियानमा मात्र केन्द्रीत रहे । अहिले सबैको भावना पार्टी जोगाउने र एक बनाउने भन्दा पनि आफै खाऊ, आफै लाऊ, देश, प्रजातन्त्र, जनता भाँडमै जाउन् भन्ने खालको छ । यस्तो गैरजिम्मेवार नेतृत्वको अब काम छैन, कार्यकर्ताले नयाँ नेतृत्व खोजेको छ, जसले पार्टीलाई एक बनाउन सकोस् र ठूलो दलको हैसियतमा देशलाई हाँक्न सकोस् ।’ 

उनले पार्टीकै नेतृत्वमा सरकार रहेको बेला भूकम्पपीडित जनताको घाउमा मल्हम लगाउन पार्टी चुकेको, त्यसपछिको अवस्थामा पार्टीको नेतृत्व भूकम्पपीडित जनताको समस्या भन्दा पनि पावर पोलिटिक्सको खेलमा लागेको भन्दै आक्रोश पोखे । 

उनले देशभरिका महाधिवेशन प्रतिनिधिले अगाडि बढ्न हरियो झण्डा देखाएकै कारण आफूहरुले सभापति र अन्य पदमा समेत उम्मेद्वारी दिन लागेको बताए । यो समूहको विश्लेषणमा हाल सभापतिमा लड्ने भनेर आपसमा भिड्दै गरेका उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा परीक्षणमा फेल भइसकेका नेता हुन् । ‘उहाँहरु दुवैजना विगतमा कुनै न कुनै रुपमा पार्टीको नेतृत्वदायी भूमिकामा रहनुभयो ।’ ताम्राकारले भने–‘तर उहाँहरुले पनि केही गर्न सक्नुभएन, पार्टीलाई एक बनाउने भन्दा पनि आफ्नो गुटलाई मजबुत बनाउनेतर्फ लाग्नुभयो, कार्यकर्ताले गुटको होइन, सिंगो कांग्रेस पार्टीको नेता खोजेको हो ।’ 

महाधिवेशनको मुखमा सभापति र अन्य पदमा उम्मेद्वारी घोषणाको तयारी गरेर बार्गेनिंग त गर्नुभएको होइन ? भन्ने बिजशालाको प्रश्नमा ताम्राकारले आफूहरुको अभियान मंसिरबाटै सुरु भएको र अभियानको मुख्य उद्देश्य पार्टीभित्रको गुटगत राजनीतिको अन्त गरी मजबुत पार्टी बनाउने उद्देश्य रहेको बताए । ‘हामीलाई बार्गेनिङ गर्नुछैन ।’ उनले थपे–‘यत्ति हो पार्टीभित्रको भागबण्डाको खेललाई अन्त गरी सबै कांग्रेसीलाई एउटै मालामा उन्नसक्ने नेतृत्व चाहिएको हो, त्यसमा हाम्रो दाबी स्वभाविक हो ।’ 

ताम्राकारलाई प्रारम्भदेखि नै पूर्व मन्त्री सुुशीलमान शेरचन, सुरेश मल्ल, अन्य युवा नेताहरुको साथ रहँदै आएको छ ।