काठमाण्डौ। काठमाण्डौ उपत्यकामा मागको एक तिहाइमात्र पानी आपूर्ति हुने गरेको छ। उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाइभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एवम् वितरण गर्छ।

पुस, माघ र फागुनमा दैनिक १३ करोड लिटर पानी दिन सकिए पनि चैत र वैशाखमा भने दैनिक ११ करोड लिटर पानी मात्र वितरण हुने गरेको लिमिटेडले जनाएको छ। वर्षायाममा भने करिब १६ करोड लिटर पानी वितरण हुने गरेको छ। सुक्खा मौसम लागेसँगै काठमाण्डौ उपत्यकामा खानेपानीको अभाव हुन्छ।

पुसपछि उपत्यकाका स्रोतको पानी कम हुँदै जान थालेपछि खानेपानीको समस्या हुने गरेको छ। धारामा पानी नआएपछि उपत्यकावासी वैकल्पिक व्यवस्था गर्न बाध्य हुन्छन्।  लिमिटेडले उपत्यकामा दुई लाख ३७ हजार धारा जडान गरेको प्रवक्ता प्रकाशकुमार राईले बताए। चोरीका धारा पनि बेला बेलामा भेटिने गरेको उनको भनाइ छ। 

काठमाण्डौ उपत्यकामा सुन्दरीजल, महादेवखोला, नख्खु मुहान, शेषनारायण, हिटीटोल, सात मूल, कुटुरी, देवकी वासुकी, बल्खु खोला, मूलडोल, चारघरे, विष्णुमती, पाँचमाने, छहरे, अल्ले, महादेवखोलालगायत स्थानबाट पानी सङ्कलन गरेर प्रशोधन गरी वितरण हुने गरेको छ। यी स्रोतमध्ये सबैभन्दा बढी वाग्मती नदीको पानी सुन्दरीजलमा सङ्कलन गरी वितरण हुन्छ। प्राकृतिक स्रोतबाट सङ्कलन गरेको पानीले नपुग्ने भएपछि केही स्थानमा भूमिगत पानी निकालेर पनि वितरण हुने गरेको छ। हाल उपत्यकामा करिब ८० स्थानमा लिमिटेडले भूमिगत पानी निकालेर प्रशोधन गरी वितरण गर्छ। यसै वर्ष करिब एक करोड लिटर पानी भूमिगत स्रोतबाट थप गर्ने तयारीमा लिमिटेड लागेको प्रवक्ता राईले बताए।

उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिने गरेको एक अध्ययनले देखाएको छ। बढ्दो जनसङ्ख्या, घर/भवनलगायत भौतिक संरचनाको निर्माणमा वृद्धि र प्राकृतिक स्रोत सुक्न थालेपछि पिउने पानीको अभाव हुन थालेको बताइएको छ।  काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले लिमिटेडलाई ३० वर्षका लागि उपत्यकामा पानी वितरणको व्यवस्था गर्ने गरी सम्झौता गरेको छ।

- RSS