काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबार बिहान ६ बजेदेखि देश लकडाउन गरेको छ। जसका कारण आन्तरिक हवाई सेवाका टिकट काटेका यात्रुहरु अलमलमा परेका होलान्। तर चिन्ता नलिनुहोस् वायुसेवा कम्पनीहरुले लकडाउनको अवधिसम्म काटिएका आन्तरिक हवाई सेवाको टिकट निःशुल्क फिर्ता लिने वा नयाँ तालिकाका लागि सार्न सकिने जनाएका छन्। 

नेपाल सरकारले एक साता लकडाउन घोषणा गरेपछि आन्तरिक हवाई उडान पूर्ण रुपमा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

वायुसेवा कम्पनीहरुले पनि सूचना जारी गर्दै १८ चैतसम्म सबै उडान बन्द भएको जनाएका छन्। 

बुद्ध एयरले टिकट रिसेड्युल तथा टिकट फिर्ता लिन सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क राख्न यात्रुहरुलाई सुझाएको छ। 

त्यस्तै यती एयरलायन्सले पनि टिकट फिर्ता वा सार्न सकिने जनाएको छ। 

काठमाण्डौबाट दैनिक करिब ३ सयको हाराहारीमा आन्तरिक उडान हुँदै आएको थियो। लकडाउनसँगै यी सबै उडान बन्द भएका छन्।