काठमाडौं। सम्झौताभन्दा फरक तरिकाले नक्सा पास हुँदा राजधानीको पुरानो बसपार्क (रत्नपार्क) मा निर्माण गर्न लागिएको काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित भएको छ ।

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार  टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपश्चात् टावर निर्माणसम्बन्धी फरक निर्णय भएकाले हालसम्म पनि निर्माणको प्रक्रिया अघि बढ्न नसकेको हो ।

भवनको निर्माण गत वैशाखको अन्तिमबाट सुरु गर्ने भनिए पनि भूकम्प तथा त्यसपछिका परकम्प र भूकम्पपश्चात् भवन निर्माणको मापदण्डमा फेरबदल भएकाले काम सुरु हुन समस्या भएको प्रमुख काफ्लेले बताए ।

भूकम्पपूर्वको योजनाअनुसार टावर २९ तल्ला बनाउने रहेको थियो । भूकम्पपश्चात् भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइने र १२ तल्लाको बनाउनका लागि नक्सा पास भएको छ ।

सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ । महानगरपालिकाले टावर निर्माणका लागि जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् ।

काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ भने नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।

सो टावरको लागत तीन अर्ब ५० करोड रूपैयाँ पुग्ने अनुमान गरिएको महानगरपालिकाले जानकारी दिएको छ । भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहनेछ ।

त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो भवन नेपाली कला, संस्कृति झल्किने खालको हुनेछ ।

निर्माणको समयमा पुरानो बसपार्कको सवारीसाधन व्यवस्थापनको उपयुक्त विकल्प निश्चित नहुँदा पनि समस्या भएको महानगरले बताएको छ ।

पुरानो बसपार्कको विकल्पका रूपमा तीनकुने, नयाँबसपार्क र रत्नपार्कलाई राखिएको छ । सोही तीन स्थानमध्ये कुनै एक स्थानलाई निर्माणको समयभरि पार्क गर्ने स्थान बनाइने बताइएको छ । रासस