काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले मंगलबार विश्व उच्च रक्तचाप दिवसको अवसरमा काठमाडौं उपत्यकाका १० स्थानमा निःशुल्क रक्तचाप जाँच शिविर आयोजना गरेको छ । 

सो अवसरमा नर्भिक परिसरभित्र उच्च रक्तचाप नियन्त्रण गर्ने सिलसिलामा एक विशेष निःशुल्क परीक्षण शिविर समेत संचालन भयो । 

हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै काठमाडौंका अन्य ९ स्थानमा पनि उच्चरक्तचाप मापन, नियन्त्रण र रोकथाम सम्बन्धी चेतना अभिवृद्धि कार्यक्रम गर्यो । निःशुल्क परीक्षण गरिएका ती ९ स्थानहरूमा भाटभटेनी सुपरस्टोर–बालुवाटार, महाराजगञ्ज, पुल्चोक, सिटी सेन्टर, कमलपोखरी, सिभिल मल–सुन्धारा, नर्भिक हस्पिटल–थापाथली, थ्री स्टार क्लब–पाटन(ललितपुर), रेडिमेड मल–खिचापोखरी, सेलवेज–जावलाखेल र शेर्पा मल–दरबारमार्ग रहेका छन् । 

साँझ ६ बजेसम्म ती शिविरहरुमा ९ सय ९० जनाले आफ्नो रक्तचापको जाँच गराएका थिए । तीमध्ये पुरुष ५३३ जना  र महिला ४५७ जना रहेका थिए । 

हस्पिटलले जारी गरेको विज्ञप्तिअनुसार पुरुषको उमेर समूह १९ वर्षदेखि ६५ वर्ष थियो भने महिलाहरू १९ वर्षदेखि ५५ वर्षसम्मका थिए । ९९० मध्ये २० प्रतिशत उच्च रक्तचापको जोखिममा थिए भने ६५प्रतिशत रक्तचापको जोखिमबाट मुक्त थिए । त्यसरी नै १५ प्रतिशतले उच्च रक्तचापको कुनै न कुनै एउटा औषधि खान सुरु गरेका जाँचको क्रममा फेला परेको थियो । 

जाँचिएका मध्ये अधिकांशको पेशा नोकरी थियो भने केही किसान र स्वरोजगार पनि थिए । उनीहरूको खाना खाने बानी सामान्य पाइएता पनि खानामा चिल्लोपिरो, रातो मासु, कहिलेकाहिँ मदिरा पान, तयारी खाना, शिशीको अचार र अधिकांश व्यक्तिहरू धुम्रपानका अम्मली रहेका पाइएको थियो ।