काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले काठमाण्डौ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्। 

लगानी बोर्डको बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले विकास काठमाण्डौ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताएका हुन्। उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्नेमा जोड दिए। 

वर्तमान परिप्रेक्ष्यमा कम्तीमा तीनवटा ठूला सहरको निर्माण गर्नुपर्ने शर्माले औँल्याए। ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो। दूरदराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीनवटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ।’

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योग लागानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिए। पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरु निर्माण गर्नुपर्ने उनको भनाइ थियो। 

पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरु अघि सार्न लगानी बोर्डलाई अर्थमन्त्री शर्माले निर्देशन दिए। 

त्यस्तै जलविद्युत क्षेत्रमा तीनवटा ठूला जलविद्युत आयोजनाहरुलाई विशेष प्राथमिकतामा राख्न पनि उनले निर्देशन दिए। ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानीजस्ता ठूला आयोजनामा तपाइँहरूले ध्यान दिनुहोहोस्’, उनले भने। 

त्यस्तै शर्माले काठमाण्डौ–पोखरा–लुम्बिनीका लागि तीव्रगतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए। यसका लागि अध्ययन गर्नसमेत उनले निर्देशन दिनुभयो। ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो। तर द्रूत गतिमा पुग्ने हुनुपर्यो’, उनले भन्नुभयो, ‘यो योजना तपाइँहरुको विशिष्टीकृत योजनामा हुनुपर्यो।’

बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता थियो।