काठमाण्डौ । विगत डेढ दशकदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औँ, १७९औँ तथा १८०औँ शाखा क्रमशः भक्तपुरको सूर्यविनायक, काठमाण्डांको धुम्बराही र ललितपुरको थसिखेलमा विस्तार गरी सञ्चालनमा ल्याएको छ। 

यीसँगै काठमाण्डौ उपत्यकाभित्र बैंकको ३५ वटा शाखा र बागमती प्रदेशमा ४९ वटा शाखा पुगेका छन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए। सुविधा सम्पन्न ती शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। 

सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्दै आएको बैंकले आर्थिक वर्ष २०७८-७९ को चौथो त्रैमासिकसम्म २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। यसै अवधिमा १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

त्यसैगरी कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सीमाभित्रै कायम गरेको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।