काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तरगत मतदानको कार्य आइतबार सम्पन्न भएको छ । 

यसपटकको निर्वाचनमा विगतभन्दा फरक नतिजा आउने चौतर्फी विश्लेषणका बीच एक्जिट पोलका रिजल्टहरु पनि बाहिर आइरहेका छन् । 
मुलुकका सबै जिल्लाका सर्वसाधारण आएर बसेका कारण पनि राजधानी काठमाण्डौको नतिजालाई चासोका साथ हेरिने गरिन्छ । 

स्थानीय निकाय निर्वाचनमा पनि काठमाण्डौ महानगरपालिकामा मतदाताले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मेयर बनाएका थिए । यसपटक पनि नयाँ दल र युवाहरुको नाममा भोट बढी गएको चौतर्फी चर्चा चलिरहेको छ । यही बेला फ्याक्ट्स नेपाल नामक निजी संस्थाले काठमाण्डौका तीनवटा क्षेत्रको एक्जिट पोलको रिजल्ट सार्वजनिक गरेको छ । 

नतिजामा देखिएअनुसार काठमाण्डौको निर्वाचन क्षेत्रनम्बर १ बाट यसपटक पनि कांग्रेस नेता प्रकाशमानसिंहले जित्नसक्ने देखिएको छ । आइतबार मत खसालेर घर फर्किदै गरेकाहरुसँग गरेको कुराकानीलाई आधार बनाएर संस्थाले एक्जिट पोलको रिजल्ट तयार गरेको थियो । 

त्यसरी मत खसाल्नेमध्ये  २४ प्रतिशतले सिंहलाई समर्थन गरे । यस्तै, १९ प्रतिशतले एमालेका उम्मेद्वार किरण पौडेललाई मत खसालेको बताए भने राप्रपाबाट उम्मेद्वार रहेका रविन्द्र मिश्रलाई १४ प्रतिशतले मत दिएको बताए । 

राष्टिय स्वतन्त्र पार्टीबाट पुकार बमलाई मत हालेका १२ प्रतिशत मतदाता भेटिए । 

यदि एक्जिट पोलअनुसारकै परिणाम आए यसपटक पनि रविन्द्र मिश्रले हार्नेछन् । यसअघिको संसदीय निर्वाचनमा उनी साझा विवेकशील पार्टीबाट निर्वाचन लडेका थिए । तर, हाल सो दल छिन्नभिन्न भइसकेको छ । मिश्र भने विचार र लाइन मिलेको भन्दै चुनाव आउनु केही साताअघि मात्रै राप्रपामा प्रवेश गरेका हुन् ।

यसैगरी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेद्वार रहेका कारण काठमाण्डौ ५  पनि चासोको केन्द्रमा छ । 

एक्जिट पोलको नतिजाअनुसार काठमाण्डौ ५ मा पोखरेल र कांग्रेसका प्रदीप पौडेलबीच नेक टू नेक प्रतिस्पर्धा देखिएको छ । पोलकै नतिजालाई आधार मान्ने हो भने प्रदीप पौडेल पोखरेलभन्दा १ प्रतिशतले अगाडि जानसक्ने देखिएको छ । ३१ प्रतिशत मतदाताले प्रदीप पौडेल तथा ३० प्रतिशतले ईश्वर पोखरेलको चुनाव चिन्हमा भोट हालेको बताएका छन् ।  

यो क्षेत्रमा स्वतन्त्र उम्मेद्वार डा. प्रणय समशेर राणा १४ प्रतिशत मत ल्याउनसक्ने देखिएको छ । 

यसैबीच, आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरी चर्चा बटुलेका कांग्रेस महामन्त्री गगनकुमार थापा चुनाव लडेको काठमाण्डौ ४ मा यसपटक पनि उनैले शानदार जित निकाल्ने देखिएको छ । 

एक्जिट पोलमा गगन थापालाई ५३ प्रतिशतले  मत दिएको बताए भने एमालेका राजन भट्टराईलाई ३१ प्रतिशतले मात्र मत दिएको सुनाएका थिए । 
राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले ८ प्रतिशत हाराहारीमा मत पाउने देखिएको फ्याक्ट्स नेपालले जनाएको छ ।