काठमाण्डौ । कात्तिक महिना वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरु निक्षेप संकलन ३६ अर्ब रुपैयाँले घटेको छ। यही महिना कर्जा लगानी भने ३६ अर्ब रुपैयाँले बढेको एनबीएको तथ्यांकले जनाएको छ। 

गत असोज ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो। कात्तिक ३० गतेसम्म भने घटेर कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ। 

कात्तिक लागेयता निक्षेप घट्न थालेपछि अन्तिम सातादेखि भने केही सुधार भएको देखिन्छ। कात्तिक २७ गतेदेखि कात्तिक ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकको निक्षेप १० अर्ब रुपैयाँले बढेको छ। 

यसैगरी कात्तिक महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ३६ अर्ब रुपैयाँले बढेको छ। गत असोज ३१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो। कात्तिक ३० गतेसम्म भने बढेर ४० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।