– रेखा चन्द

काठमाण्डौ । भद्र सहमति तोडेर असोज महिनामा ब्याजदर बढाएका वाणिज्य बैंकहरुले कात्तिक महिमा के गर्लान् भन्ने चासो अहिले चौतर्फी छ। कात्तिकमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर यथावत रहने संकेत देखिएको छ।

कात्तिकमा साधारण निक्षेप, व्यक्तिगत मुद्दति निक्षेप र संस्थागत मुद्दति निक्षेपको ब्याजदर असोजकै यथावत रहने स्रोत बताउँछ। तर, बैंकहरुले रेमिट्यान्स निक्षेप खातामा भने ब्याजदर बढाउन सक्ने सम्भावना रहेको छ। ‘कात्तिकमा निक्षेपतर्फको ब्याजदर यथावत नै रहने सम्भावना छ। तर रेमिट्यान्समा भने केही बैंकले ब्याजदर बढाउन सक्छन्’, स्रोतले भन्यो।

यस्तै वाणिज्य बैंकहरुको कात्तिकमा कर्जाको ब्याजदर पनि बढ्ने भएको छ। कात्तिकदेखि बेसरेट (आधारदर) बढ्ने भएकोले बैंकहरुको कर्जाको ब्याज स्वतः बढ्ने भएको हो। 

नेपाल राष्ट्र बैंकले बैंकहरुले हरेक तीन–तीन महिनामा आधारदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ। सोहीअनुसार हाल लागू भएको बेसरेट साउनमा परिवर्तन भएको थियो। जुुन असोज मसान्तमा सकिँदैछ। कार्तिकमा नयाँ बेस रेट कायम हुनेछ। 

स्रोतका अनुुसार बैंकहरुले कात्तिकमा बेसरेट बढाएर कर्जाको ब्याजदर बढाउने तयारी गरेका छन्। ‘कात्तिकमा सबै बैंकको बेसरेट बढ्छ। राष्ट्र बैंकले बेस रेटमा जोडिने प्रिमियममा फेरबदल गर्न पाइँदैन भनेको छ। त्यसकारण पनि आधार दर बढ्छ र कर्जाको ब्याजदर स्वतः बढिहाल्छ’, स्रोतले भन्यो।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले निक्षेपको ब्याजदर लामो समय यथावत राखेकोमा असोजमा बढाएर १२ प्रतिशतभन्दा बढी पुुर्याएको थियो। ब्याजदर औसतमा १० प्रतिशतले बढाएर व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १२.१३ प्रतिशत, संस्थागतमा १०.१३ र रेमिट्यान्समा १३.१३ प्रतिशत ब्याजदर पुुर्याएको थियो। 

यस्तै केही वाणिज्य बैंकले ३ महिनासम्मको व्यक्तिगत मुद्दति निक्षेपमा १२.०३ प्रतिशत, संस्थागतमा १०.०३ प्रतिशत र रेमिट्यान्समा १३.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए। यसका साथै रेमिट्यान्स खातामा भने १५ प्रतिशतभन्दा बढी ब्याजदर पुगेको थियो।  

हाल अधिकांश वाणिज्य बैंकहरुको आधारदर दोहोरो अंकमा छ।