काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ। 

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म लगाइनेछ भने दोस्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ। 

खोप काठमाण्डौ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइनेछ।

फाइजर खोप मुटुको शल्यक्रिया गराएका वा औषधी सेवन गरिरहेका,  मिर्गौला फेरेका डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका बालबालिकालाई लगाइने मन्त्रालयले जनाएको छ। 

उपत्यकाभित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल,  पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइनेछ। 

यसैगरी उपत्यकाबाहिर मेची अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल भेरी अस्पताल, डडेलधुरा अस्पताल, कोशी अस्पताल, गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, धुलिखेल अस्पताल, धवलागिरि अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रादेशिक अस्पताल र सेती अस्पतालमा लगाइनेछ। 

कोभ्याक्स सुविधामार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाउन लागिएको हो।