काठमाण्डौ । कानुनको धज्जी उडाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ। 

व्यक्तिगत भ्रमणमा क्रममा हाल अमेरिका रहेका सेबोन अध्यक्ष रमेशकुमार हामलले फोनबाट सेबोनमा कसैलाई पनि छिर्न नदिनु भनेर प्रशासनका कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। सोही निर्देशनलाई पालना गर्दै हिजोबाट सेबोनमा कसैलाई पनि छिर्न नदिइएको हो। 

सेबोन एउटा सार्वजनिक निकाय हो। त्यहाँ कामविशेषले आमसर्वसाधारणदेखि अन्य क्षेत्रका मानिसहरुको दिनहुँ आउजाउ हुने गर्छ। तर, हिजोबाट पुँजीबजार सुधार र विस्तारका लागि आन्दोलन गरिरहेका लगानीकर्ताका नेता तिलक कोइराला सेबोनबाहिर आमरण अनशन सुरु गरेपछि अमेरिकाबाटै सेबोन अध्यक्ष हमालले फोन गरी प्रशासनका कर्मचारीलाई कसैलाई छिर्न नदिन निर्देशन दिएका हुन्। 

कानुनमा सार्वजनिक निकायमा सर्वसाधारणको सहज प्रवेश र पहुँच हुनुपर्ने स्पष्ट उल्लेख छ। ‘कानुनको खिल्ली उडाउँदै सेबोन अध्यक्ष हमालले सार्वजनिक निकायमा प्रवेश गर्न लगाउनु राम्रो भएन’, त्यहाँ उपस्थित एक सेवाग्राहीले भने, ‘सरकारले उनीमाथि कडा कारबाही गर्नुपर्छ।’

अहिले सेबोन कार्यालयमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ। त्यहाँ उपस्थित सुरक्षाकर्मीले सेबोन प्रशासनले रोक लगाएको भन्दै कसैलाई पनि छिर्न दिइरहेका छैनन्। सुरक्षाकर्मीका अनुसार ३ दिन कसैलाई सेबोन कार्यालय प्रवेश गर्न नदिन सेबोन प्रशासनले भनेको छ। 

सेबोनका एक उच्च अधिकारीले सेबोन प्रशासनले कसैलाई छिर्न नदिन भएकोले आफूलाई भेट्न आउन खोज्नेहरुलाई बोलाउन नसकेको बताए। ‘मलाई भेट्न आउनेलाई पनि बोलाउन सकिरहेको छैन, मैले भनेर केही हुँदैन’, ती अधिकारीले भने। 

एकातिर बजार सुधारको माग गर्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। लगानीकर्ताको आन्दोलनलाई बेवास्ता गर्दै सेबोन अध्यक्ष हमाल भने व्यक्तिगत कामका लागि अमेरिकी पुगेका छन्। बजार सुधारका लागि आफूले काम गरिरहेको भन्ने सेबोन अध्यक्ष हमालको यो कदमले भने लगानीकर्तामात्रै होइन आमसेवाग्रही पनि रुष्ट बनेका छन्।