काठमाण्डौ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत कामना सेवा विकास बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त मालीगाउँलाई विभिन्न जनचेतनामूलक साइन बोर्डहरु, माक्स तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ। 

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा नायब प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्सालले संयुक्त रुपमा ती सामग्रीहरु हस्तान्तरण गरेका हुन्। 

यसका साथै हस्तान्तरण कार्यक्रमपछि बैंकका सञ्चालक सुवेदी तथा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रहरी नायब उपरीक्षक मीनबहादुर कुँवरले सानो गौचरनमा संयुक्त रुपमा जनचेतनामूलक बोर्डको अनावरणसमेत गरेका थिए। ती बोर्डहरु सहरका विभिन्न ठाउँमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास बैंकले लिएको छ।  

सञ्चालक सुवेदीको अध्यक्षता तथा काठमाण्डौ महानगरपालिका वडा नं. ३० का वडाअध्यक्ष दलबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, महानगरीय प्रहरी वृत्त मालीगाउँलाई, ३० नंं वडा कार्यालयलगायत सबैलाई धन्यवाद दिए। उनले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 

प्रहरी नायब उपरीक्षक कुँवरले बैंकले आफ्नो व्यवसायका अतिरिक्त आफ्नो सामाजिक उत्तरदायित्व सम्झी समुदायको हकहितको खातिर यस्ता महत्वपूर्ण कार्यहरु गरेकोमा आफूलाई निकै गर्व लागेको बताए। उनले यस्ता कार्यमा प्रहरी सधैँ साथमा रहने प्रतिबद्धता जनाए। 

यसैगरी वडाअध्यक्ष कार्कीले बैंकले ट्राफिक बत्ती, न्यून आय भएका परिवारका बालबालिकालाई न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण, सरसफाइ, वित्तीय साक्षरता अभियान सञ्चालन, शान्ति सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक पोस्टर तथा साइन बोर्डहरु वितरण गरी समाजका लागि अनुकरणीय कार्यहरु गरेकोमा आफू तथा सम्पूर्ण वडाबासीहरुका तर्फबाट विशेष धन्यवाद दिए।