काठमाण्डौ। ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसथ कप–२०२१’ प्रतियोगिताको आज उद्घाटन गरिएको छ। उद्घाटनसँगै आजैबाट लिग चरणका खेलहरु पनि सुरु भएका छन्। 

काठमाण्डौ महानगरपालिका–४ हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुदमन्त्री माननीय महेश्वरजंग गहतराजले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटनमा मन्तव्य राख्दै मन्त्री गहतराजले कोरोना महामारीका कारण विगत २ वर्षदेखि खेलकुदलगायत सबै क्षेत्र प्रभावित भएको र हाल संक्रमणको प्रभाव कम हुँदै गएकोले खेलकुदका गतिविधिहरु सञ्चानल हुन थालेको हुँदा खेलाडीहरुमा उत्साह जागेको बताए। 

खेलकुदले मानिसलाई अनुशासित गराउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा हरेक क्षेत्रमा यसको महत्व रहेको हुँदा बैंकले फुटसल प्रतियोगिता आयोजना गरेर निकै सरहानीय कार्य गरेकोमा बैंक परिवारलाई उनले धन्यवाद दिए। 

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केटीएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल, एन्फाका प्रतिनिधि, सहभागी टिमका खेलाडीलगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो। 

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुसमेत गरी २४ वटा टिम सहभागी भएका छन्। २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’ मा कामना सेवा विकास बैंक (हरियो), राष्ट्रिय बीमा संस्थान, सांग्रिला डेभलपमेन्ट बैंक र कुमारी बैंक, समूह ‘बी’ मा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह ‘सी’ मा नेपाल इन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह ‘डी’ बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंक, समूह ‘ई’ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् भने समूह ‘एफ’ मा कामना सेवा विकास बैंक (निलो), माछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक छन्। 

प्रतियोगितामा एन्फा फुटबल कमिटीले रेफ्रीहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नका लागि सहजीकरणसमेत गरेको छ।