काठमाण्डौ । कारोबारमा फराकिलो सुधार गर्दै सेयर बजारले दोहोरो अंकको बढोत्तरीसहित चुनावलाई स्वागत गरेको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से २५.५७ अंक(१.३४)ले बढेर बन्द भएको हो । 

अघिल्लो दिनको तुलनामा कारोबार रकम लगभग सत्प्रतिशतले बढेको छ । यसले समेत लगानीकर्ताको मनोबल बढ्दै गएको र बजारले चुनावपछि पनि लय समात्नसक्ने आशा बढेर गएको छ । 

हिजो ८६ करोड हाराहारीमा भएको कारोबार बढेर आज १ अर्ब ७१ करोड ५४ लाख बढीको सेयर किनबेच भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा आएको उछालले लगानीकर्ता उत्साहित देखिएका छन् । 

मुख्य गरी नेपाल राष्ट्रबैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय रिपोर्टको सकारात्मक प्रभाव आजको बजारमा परेको देखिएको छ । अर्थतन्त्रमा सुधार आइरहेको रिपोर्टले लगानीकर्ताको मनोबल बढेको हो । त्यसको अघिल्लो दिन अर्थात हिजो विकास बैंक तथा फाइनान्स कम्पनीले ब्याजदर थोरै भए पनि घटाउँदा लगानीकर्ताले सामान्य राहात महसुस गरेका थिए । 

बजार जानकार मुक्ति अर्यालकाअनुसार नेपाल राष्ट्रबैंकले हिजो प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय रिपोर्टका कारण बजारमा सकारात्मक माहौल सिर्जना भएको हो । ‘केन्द्रीय बैंकको रिपोर्टले शोधानान्तर अवस्था बचतमा रहेको देखाएको छ भने रेमिटान्स भने सन्तोषजनक ढंगले बढेको छ ।’ अर्यालले भने–‘यस्तै आयात घटेका कारण विदेशी मुद्रा सञ्चितीमा पनि सुधार भएको देखिएको छ । आजको बजार बढ्नुमा एउटा प्रमुख कारण यही हो ।’ 

उनको भनाईमा विश्वका अन्य सेयर बजारहरुमा पनि पछिल्लो समय सुधार भइरहेको छ । यसले समेत केही न केही प्रभाव पारेको हो । 

साताको अन्तिम कारोबार दिन बिहीबारको बजारको वृद्धिलाई अर्याल आगामी दिन पनि बजारले लय समात्ने आधारको रुपमा लिन सकिने बताउँछन् । ‘यसबाट चुनावपछि पनि बजार राम्रै हुनसक्ने आँकलन गर्न सकिन्छ ।’–उनले भने । 

के-के भयो बजारमा ?
आज नेप्से परिसूचक बढेर १९३६.८३ को विन्दूमा पुग्यो । बजारमा १८७ कम्पनीका ४३ लाख ८४ हजार ४ कित्ता सेयर १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँमा किनबेच भए । 

कारोबारमा आएका कम्पनीमध्ये १७२ वटाको मूल्य बढ्यो भने १३ कम्पनीको घट्दा २ वटाको मूल्य स्थिर रह्यो । 

यो दिन सबै उपसमूहको सूचक हराभरा भए । हाइड्रोपावर समूहमा यो दिन ६१.६९ अंक(३.१४ प्रतिशत)को उछाल आयो । 

बैंकिङ समूह १२.२७ अंकले बढेको यो दिन विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहमा क्रमशः ६४.९१, ३७.२५ र ३८.४० अंकको बढोत्तरी भयो । 

होटल र टुरिजम समूह ९.४५ अंकले बढेको यो दिन इन्भेष्टमेन्ट उपसमूहमा ०.६९ अंक, जीवन बीमा समूहमा ५६.७४ अंक तथा निर्जीवन बीमा समूहमा १०२.१७ अंकको बढोत्तरी भयो । 

प्रशोधन तथा उत्पादन समूह १०२.८९ प्रतिशतले बढ्यो भने म्युचुअल फण्ड समूहमा ०.२२ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन रिडी हाइड्रोपावरले सबैभन्दा धेरै १४ करोड ३९ लाख बढीको कारोबार गर्यो । 

शिवम सिमेन्टले १३ करोड ४० लाख, हिमालयन डिस्टीलरीले १० करोड २९ लाख, फरवार्ड माइक्रोफाइनान्सले ७ करोड ९० लाख तथा हिमालयन पावर पार्टनरले ६ करोड १३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
धेरै कमाउने मुख्य १० कम्पनीको सूचीमा ९ स्थानमा हाइड्रोपावरहरुको दबदबा चल्यो । 

यो दिन सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरका लगानीकर्ता मालामाल भए । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजिटिभ सर्किट लाग्यो । 

बोटलर्स नेपाल तराई लिमीटेडको सेयरमूल्य ७.५१ प्रतिशतले बढेको यो दिन रिडी हाइड्रोपावरको मूल्यमा पनि ६.०३ प्रतिशतको बढोत्तरी भयो । 

पञ्चकन्या माई हाइड्रो, युनियन हाइड्रो र सामलिङ हाइड्रोका लगानीकर्ताले ६ प्रतिशत हाराहारीमा सम्पत्ति बढाए भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.४९ प्रतिशत, मध्यभोटेकोशीका लगानीकर्ताले ५.४२ प्रतिशत र जोशी हाइड्रोपावरका लगानीकर्ताले ५.३९ प्रतिशतले सम्पत्ति बढाए । 

खराब वित्तीय विवरण प्रकाशित गरेका कारण फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ७९.९० रुपैयाँले घट्यो । 

यस्तै, यो दिन इमरजिङ नेपाल लिमीटेड र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले २ प्रतिशत हाराहारीमा सम्पत्ति गुमाए ।