काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीय माध्यममार्फत कारोबार गर्नेको संख्या बढ्दै गइरहेको छ।
नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमको प्रयोगलाई जोड दिँदै आएको छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि विद्युतीय माध्यमबाट प्रयोगलाई बढावा दिन आफ्ना ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै आएका छन्।
अहिले तारे होटेलदेखि स–साना पसलमा समेत सेवा लिँदा ग्राहकले विभिन्न प्रकारका विद्युतीय माध्यमबाट भुक्तानी गर्न थालेका छन्।
पछिल्लो १ वर्षको अवधिको तथ्यांक हेर्ने हो भने मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १६ प्रतिशत बढी बढेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१को साउन मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १६ लाख ९१ हजार ४७४ पुगेको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८–७९को असार मसान्तसम्म १ करोड ८६ लाख ४३ हजार ८३४ थियो। समीक्षा वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १६.३५ प्रतिशतले बढेको छ।
यसैगरी यो अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि १०.५५ प्रतिशतले बढेर १८ लाख ८७ हजार ४६ पुगेको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ६ हजार ८६९ रहेको थियो।
समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत २ खर्ब ४२ अर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १ खर्ब ५२ अर्ब रुपैयाँ बढीको भएको थियो। समीक्षा वर्षमा मोबाइल बेंकिङमार्फत हुने भुक्तानी अघिल्लो वर्षको तुलनामा ५९.२२ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको साउन मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत १४ अर्ब ६४ करोड रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १३ अर्ब ७४ करोड रुपैयाँ बढीको भएको थियो।
समीक्षा अवधिमा विभिन्न वाटेल र क्यूआरमार्फत हुने भुक्तानी क्रमशः २१ अर्ब ९१ करोड रुपैयाँ र २९ अर्ब ९९ करोड रुपैयाँ बढीको भएको छ। अघिल्लो वर्ष यस्ता भुक्तानी क्रमशः १७ अर्ब ४६ करोड रुपैयाँ र १४ अर्ब ८१ करोड रुपैयाँ थियो।
19 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
13 hours ago
14 hours ago