काठमाण्डौ । धितोपत्र कारोबारको राफसाफ चक्र छोटिँदा पनि क्लोजआउटको संख्या पुरानै तथ्यांक हाराहारीमा भएको छ।

गत आइतबारदेखि लागू भएको टी प्लस टु अर्थात् दुई कार्यदिनभित्रै धितोपत्र कारोबारको राफसाफ ३ कार्यदिनबाट छोटिँदा क्लोजआउट बढ्ने अनुमानविपरीत पुरानै लयमा क्लोजआउट पर्न थालेको हो।

गत आइतबार सम्पन्न धितोपत्र कारोबारको राफसाफ हिजो मंगलबार भएको थियो। हिजोको तथ्यांकअनुसार ९९ वटा कारोबारबाट १३ लाख ५७ हजार ७२८ रुपैयाँ क्लोजआउट पर्न गएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। यसअघि दैनिक क्लोजआउट औसतमा १०५ वटा कारोबारबाट १४ लाख रुपैयाँ हाराहारी पर्ने गरेको प्रवक्ता न्यौपानेले बताए।

कहिलेकाहीँ प्राविधिक इस्यू देखिए पनि अधिकांशको हकमा लगानीकर्ताकै लापरबाहीका कारण क्लोजआउट पर्ने गरेको बताइएको छ। नेप्सेकै सिस्टमलाई दोष देखाउँदै दैनिक ४–५ वटा क्लोजआउटका समस्याहरु लिई लगानीकर्ता नेप्से आउने र समस्या सुनाउने गरेको नेप्सेका एक अधिकारी बताउँछन्।

लगानीकर्ताकै हेल्चेक्र्याइँका क्लोजआउटको समस्या निराकरण हुन नसकेको एक ब्रोकर हाउसका डीपीस्थित एक अधिकारीले दाबीसमेत गरे। नियमित फलोअप गर्दै ईडीआईएस वा डीआईएस गरिरहेको जिकिर गर्दै ती अधिकारीले ईडीआईएस गर्नसमेत नआउने लगानीकर्तालाई सहजीकरण गर्नुपरिरहेको बताए।

अधिकांश ब्रोकर कम्पनीबीच अलिखित सम्झौता भई क्लोजआउटबापतको रकम लिन नपर्ने वा दिन नपर्ने व्यवस्था गरेका छन्। यसअघि केही समयअघि टीएमएसमा भएको लुप होलका कारण सर्टसेलको व्यवस्था थियो। जसमा कुनै बेला क्लोजआउट पर्ने सम्भावनासमेत अधिक थियो। तर हाल डीपी होल्डिङ चेक भई सेयर बिक्री गर्न पाउने व्यवस्था भएपछि सर्टसेलसमेत पूर्ण रुपमा प्रतिबन्ध छ।

उसो त क्लोजआउटमा पर्दा कतिपय सोझासाधा लगानीकर्ताबाट २० प्रतिशत रकम ब्रोकरले असुल गरे पनि क्लोजआउटमा परी सेयर नपाएका लगानीकर्ताले क्लोजआउटबापतको रकम पाइरहेका छैनन्। अर्थात् लगानीकर्ताले सेयर बिक्री गरेपश्चात नियामक निकायले सेयर बिक्री गर्दा सेयर हस्तान्तरण नभए २० प्रतिशत जरिवाना असुल्ने व्यवस्था गरेको छ। तर सो २० प्रतिशत रकम सेयर खरिदकर्ताले पाइरहेका छैनन्। 

सेयर खरिद गर्दा क्लोजआउटमा परी सेयर आउन सकेन भने खरिद रकमको २० प्रतिशत रकमबाट सरकारलाई २५ प्रतिशत करकट्टी गरी बाँकी रकम पाउन सकिन्छ।