– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत बुधबार नेप्सेलाई पत्राचार गर्दै कारोबार अवधिमा फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ। उक्त निर्देशन जारी भएसँगै कारोबार अवधिभर कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्याको विवरण रियल टाइममा फ्लोरसिटमा हेर्न पाइने छैन।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम ४ को प्रतिकूल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न सेबोनले नेप्सेलाई निर्देशन दिएको हो। अर्थात् कारोबार समयपश्चात् भने लगानीकर्ताका साथै ब्रोकरहरुले उक्त विवरण हेर्न पाउने छन्। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली कारोबार अवधिमा मात्र नभएर फ्लोरसिट पूरै हटाउनुपर्ने बताउँछन्। ‘सुरुआतमा ओपन आउट क्राई सिस्टम हुँदा क्लइन्टको नाममा अर्डर राख्न सम्भव थिएन। ब्रोकरले आफ्नै नाममा अर्डर राख्नुपरेकाले त्यसबेला फ्लोरसिटको औचित्य थियो’, उनले भने, ‘सेमी–अटोमेटेड सिस्टम आएपछि नै क्लाइन्टलाई कारोबारबारे मेसेज जाने साथै क्लाइन्टले आफैँले हेर्न मिल्थ्यो। त्यसबेला नै फ्लोरसिटको औचित्य सकिएको थियो।’ 

अहिले त क्लाइन्ट आफैँले लगइन गरेर सजिलै आफ्नै नाममा अर्डर राख्नुका साथै अर्डर के भयो भनेर आफैँले जानकारी लिन सक्ने मैनालीको भनाइ छ। ‘अन्तर्राष्ट्रिय बजारहरुमा फ्लोरसिट सार्वजनिक गर्ने भन्ने कतै छैन। उनी भन्छन्, ‘हाम्रोमा फ्लोरसिटले गर्दा बजारलाई राम्रोभन्दा पनि विकृति बढेर गएको देखिन्छ। लगानीकर्ताले अर्थतन्त्र, कम्पनी अध्ययन गर्नुको साटो कुन ब्रोकर वा कुन खेलाडीले के किन्यो ? के बेच्यो? भनेर लगानी गर्दा दीर्घकालीन रुपमा बजारका साथै लगानीकर्तालाई नराम्रो असर गरेको देखिन्छ। त्यसैले कारोबार अवधिभरमात्र नभएर फ्लोरसिट नै पूरै हटाउनुपर्छ।’

‘२–३ वर्षदेखि नै फ्लोरसिट हटाउने भन्नेबारे कुरा उठ्दै आएको थियो। त्यसबेलादेखि नै लगानीकर्ताहरु दुई धारमा बाँडिएका थिए। अहिले पनि लगानीकर्ताको फरक–फरक धारणा रहेको पाइन्छ’, नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी भन्छिन्, ‘एकथरि लगानीकर्ताको फ्लोरसिटलाई मात्र आधार मानेर लगानी गर्दा लगानीकर्ता कुनै पनि विन्दुमा गएर फस्न सक्छन्। त्यसैले हटाउनुपर्छ भन्ने तर्क छ। अर्कोथरिको भने फ्लोरसिट प्राविधिक विश्लेषणको महत्वपूर्ण पाटो भएकाले हटाउनुहुँदैन भन्ने तर्क छ। मेरो विचारमा पनि अहिले भइरहेको सुविधालाई हटाएर फ्लोरसिट हटाउन आवश्यक थिएन।’

सेबोनले गर्नैपर्ने अन्य धेरै काम रहेको तिवारी बताउँछिन्। ‘ब्रोकर कमिसन घटाउने, ब्रोकर संख्या थप्ने, बैंकलाई ब्रोकर लाइसेन्स वितरण गर्नेजस्ता महत्वपूर्ण काममा सेबोन केन्द्रित नभएर बजार विकास र विस्तारलाई तात्विक ठूलो अर्थ नराख्ने कुराहरुमा बोर्ड केन्द्रित भएको देखिन्छ’, उनी भन्छिन्, ‘उक्त निर्देशनपछि पनि बजार अवधिपछि कसले के किन्यो ? के बेच्यो ? भनेर फ्लोरसिटमा हेर्न पाइन्छ। त्यसैले बजार अवधिमा फ्लोरसिट बन्द हुँदा पनि तात्विक केही फरक नपर्ने देखिन्छ।’

सेबोनको निर्देशनले लगानीकर्ताहरु फ्लोरसिट हेर्न पाउने अधिकारबाट वञ्चित भएको तिवारीले बताइन्। ‘सेबोनको उक्त निर्देशनले दीर्घकालीन लगानीकर्ताहरुलाई केही अर्थ नलाग्न सक्छ’, उनले भनिन्, ‘तर, ट्रेडरहरुलाई भने ठूलो अर्थ लाग्छ।’

पुँजीबजार विश्लेषक तथा बजारका जानकार तिलक कोइराला लगानीकर्ताको कारोबारको गोपनीयता आवश्यक भएकाले सेबोनले फ्लोरसिट नदेखाउन जारी गरिएको निर्देशन समग्र बजारका लागि नै राम्रो रहेको बताए। ‘विश्वको कुनै पनि मुलुकको पुँजीबजारमा कुन ब्रोकरले के किन्यो ? के बेच्यो ? भनेर फ्लोरसिट सार्वजनिक गरिँदैन’, उनले भने, ‘तर, हाम्रोमा भने लगानीकर्ताले फ्लोरसिट हेरेर ब्रोकरलाई फलो गरेर किन्ने–बेच्ने प्रवृत्ति बढेको देखिन्छ। त्यसैले फ्लोरसिट नदेखाउनु नै राम्रो हुन्छ।’

सेबोनले इन्साइडर ट्रेडिङ, लगानीकर्तालाई गुमराहमा पार्नेजस्ता गतिविधि भने नियन्त्रण गर्नुपर्ने कोइराला बताउँछन्। ‘कुन ब्रोकरले के किन्यो ? के बेच्यो ? भन्ने स्पष्ट जानकारी सेबोन, नेप्से र सीडीएससीलाई हुन्छ। त्यसैले तीनवटै निकायबाट गोप्य सूचना अर्को ब्रोकर, लगानीकर्ता वा खेलाडीलाई गोप्य रुपमा प्रदान गरियो भने त्यो बजारका लागि झन् धेरै घातक हुन्छ’, कोइरालाले भने, ‘त्यसैले नियामकले उक्त निर्देशनपश्चात् त्यस्तो किसिमको गोपनीयता कतिको कायम गर्न सक्छ भन्ने महत्वपूर्ण कुरा हो।’