काठमाण्डौ । महिनौँपछि कारोबार खुलेको दोस्रो दिन पनि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ।

आज कारोबार खुलेको केही मिनेटमै इन्भेस्टमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। यो समाचार तयार पार्दासम्म यो बैंकको सेयरभाउ ३६.७० रुपैयाँले घटेर ३३१ रुपैयाँमा कारोबार भइरहेको छ। 

हिजो पनि यो बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले करिब एक वर्षअघिदेखि मर्जर प्रयोजनका लागि नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको सेयर कारोबार रोक्का राखेको थियो। यी दुवै बैंकबीच २०७८ वैशाख २० गते मर्जर सम्झौता भएको थियो। तर, केही महिनापछि नै मर्जर भाँडियो तर दुवै बैंकको सेयर कारोबार भने रोक्का नै रह्यो। 

लामो समयदेखि सेयर कारोबार रोक्का रहेपछि इन्भेस्टमेन्ट बैंकले सेयर कारोबार खुलाउन नियामक निकायसँग पहल गरेको थियो। बैंकको आग्रहमा नेपाल राष्ट्र बैंकले नेप्सेलाई इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार फुकुवा गर्न निर्देशन दिएको थियो। 

हाललाई राष्ट्र बैंकको निर्देशमा नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंकका आधारभूत सेयरधनीहरुबाहेकका सेयर कारोबार सोमबारबाट फुकुवा गरेको छ। 

समयसम्म कारोबार नखुल्दा सर्वसाधारण लगानीकर्ताको लगानी बन्धकमा परेको थियो । महिनौँपछि कारोबार खुले पनि लगातार सेयरमूल्यमा पहिरो जाँदा लगानीकर्ता झन् पीडित बन्न पुगेका छन्। 

मेगा बैंकसँग मर्जर छलफलमा रहेको इन्भेस्टमेन्ट बैंकको मूल्य सुनियोजित घटाउन खोजिएको स्रोतको दाबी छ। ‘इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य घटाएर मेगा बैंकसँगको मर्जर छलफलमा सेयर स्वाप रेसियो मिलाउने दाउसमेत हुनसक्छ’, स्रोतले भन्यो। 

इन्भेस्टमेन्ट बैंकसँग मेगा बैंकले गरेको मर्जरको प्रारम्भिक छलफलमा ९० को हाराहारीमा स्वाप दिन इन्भेस्टमेन्ट तयार देखिएको छ। तर, मेगाले समान हैसियत मागिरहेको स्रोत बताउँछ।