काठमाण्डौ । रमेशकुमार हमालले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको जिम्मेवारी सम्हालेको १६ महिना पूरा भइसकेको छ। अब उनको कार्यकाल सकिन ४ महिनाजति बाँकी होला।
अध्यक्षको हैसियतमा सेबोनमा आएका हमालले आफूले बोलेरभन्दा काम गरेर देखाउने दाबी गरेका थिए। उनको कार्यकालमा केही राम्रा काम पनि भएका छन्। तर, उनका अन्य विभिन्न गतिविधिको तीव्र विरोध र आलोचना पनि भएका छन्।
हमाल सेबोनमा प्रवेश गरेलगत्तै कर्मचारीहरुको बोली बन्द भएको छ। ‘बोल्यो कि पोल्यो भन्ने अवस्था छ, कार्यालय समयमा साथीभाइको फोन आउँदा पनि डराई डराई उठाउनुपर्छ’, सेबोनका एक कर्मचारीले भने।
त्यसो त सञ्चारकर्मीले बेला–बेला आवश्यक जानकारी लिन खोज्दा स्वयं सेबोनका प्रवक्ता र सूचना अधिकारीसमेत बोल्न अन्कनाउने गर्छन्। ‘सेबोनमा तेजप्रसाद देवकोटा ‘बिना सूचना’का अधिकारी हुन्, उनीसँग कुनै जानकारी नै हुँदैन, चिप्ला कुरा गर्न भने माहिर छन्’, ती कर्मचारीले भने।
स्वयं अध्यक्ष हमालकै कुरा गर्ने हो भने यो १६ महिनाको अवधिमा उनी अफिस आवर(१०–५)सम्म कार्यालयमा बसेको बिरलै रहेको स्वयं कर्मचारीहरु नै बताउँछन्। ‘अध्यक्ष हमाल १–२ घन्टाभन्दा बढी समय कार्यालयमा बस्नुभएको मैले आजसम्म देखेको छैन’, एक उच्च अधिकारीले भने, ‘सञ्चालक समितिको बैठक बस्नुपर्दा १–२ घन्टा बढी बस्नुभयो होला, तर प्रायः बिहान ११ बजेतिर कार्यालय आउनुहुन्छ र दिउँसो १ बज्दा नबज्दा कार्यालयबाट बाहिरिनुहुन्छ।’
ती अधिकारीका अनुसार अध्यक्ष हमाल थोरै समयमात्रै कार्यालयमा बस्दा दैनिक कामकारबाहीसमेत प्रभावित हुने गरेको छ। ‘कुनै काम गर्दा कहिलेकाहीँ त फोनबाटै अनुमति लिनुपर्छ’, ती अधिकारीले भने, ‘उहाँकै हस्ताक्षर वा उपस्थिति आवश्यक देखिएमा काम नै रोक्नुपर्ने अवस्था पनि आउँछ।’
नेप्सेमा अध्यक्षको भूमिका खासै नहुने भए पनि सेबोनमा अध्यक्ष नै कार्यकारी हुने भएकोले हमालको कार्यालयमा अफिर आवरसम्म उपस्थिति अनिवार्य हुनुपर्ने ती अधिकारीको भनाइ छ। ‘नेप्सेमा सीईओको भूमिका अहम हुन्छ, सेबोनमा अध्यक्ष शक्तिशाली हुन्छन्’, ती अधिकारीले भने, ‘तर, हमाल अध्यक्ष भएर आउनु भएपछि अफिर आवरसम्म कार्यालयमा बसेको मैले देखेको छैन।’
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago