काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ र ११ औँ वार्षिक साधारणसभा एकैपटक डोकेको छ। 

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक साधारणसभा आउँदो वैशाख ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित बुद्धचोकमा रहेको होटेल टास्क इन्टरनेसनल प्रालिको सभाहलमा बिहान ८ बजेबाट हुनेछ। 

सभाले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तपुँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड ५२ लाख ३३ हजार रुपैयाँबराबरको बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर जारीपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

संस्थामा हाल संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व क्रमशः ६४.५२ प्रतिशत र ३५.४८ प्रतिशत रहेको छ। नियमनकारी नियकाबाट स्वीकृति प्राप्त गरेपछि कार्यान्वयन गर्ने गरी अब संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व क्रमशः ५४.५२ प्रतिशत र ४५.४८ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पनि सभाबाट अनुमोदन हुनेछ। 

सोही सभाले उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत २२ गतेदेखि आउँदो वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २१ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाले घोषणा गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।