काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बुद्धचोकस्थित होटेल टास्क इन्टरनेसनलको सभाहलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट हाल कायम चुक्तापुँजी ३१ करोड २८ लाख ७५ हजार ४११.३५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १९ प्रतिशतले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८.१६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३१ लाख २८ हजार ७५४.११ रुपैयाँबराबरको नगद लाभांश छन्।
बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
एक वा एकभन्दा बढी लघुवित्त संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उचित देखिएमा सोका लागि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही चैत १६ गतेदेखि चैत २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
31 minutes ago
41 minutes ago
59 minutes ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago