काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाण्डौको नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको थियो। 

कम्पनीले गत माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको थियो। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओमा निष्कासनको अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९६९ आवेदकले कुल १ करोड ६६ लाख ७० हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ६५ हजार ७६३ आवेदकबाट परेको १ करोड ६५ लाख ६६ हजार २३० कित्ता सदर भएको छ भने बाँकी ८ हजार २०६ आवेदकबाट १ लाख ४ हजार ७६० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ८९ हजार ६४० जनाले मात्र सेयर हात पारेका छन्। सदर आवेदकमध्ये १३ लाख ७६ हजार १२३ आवेदकको हात खाली भएको छ। 

आईपीओ बाँडफाँडको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र जारी गर्ने कम्पनीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।