काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आज मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गाएका नेपालीका लागि आवेदन खुलाएको छ।
त्यस्तै कम्पनीले जारी पुँजी ६० करोडको २ प्रतिशतले हुने १ करोड २० लाख रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल १ लाख २० हजार कित्ता आईपीओ जारी गरेको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १० हजार ८०० कित्तासम्म आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार आज अपराह्न ४ बजेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये ८३ जनाको आवेदन परेको छ। ती आवेदनमार्फत कुल ४३ हजार ६०० कित्ता सेयर माग भएको छ। यो हिसाबले प्रतिवेदन सरदर ५२५ कित्ताभन्दा बढी माग भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर २८ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।
उता स्थानीयका लागि जारी आईपीओ छिटोमा मंसिर २८ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस १४ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।
दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं. १ कुरीबाट आफ्नो सेवा प्रदान गरिरहेको कम्पनीले दोलखा जिल्लावासी सबैलाई आयोजना प्रभावित बासिन्दा मानी कम्पनीको आयोजना प्रभावित क्षेत्रमा स्थायी बासिन्दाका लागि निष्कासनमा आवेदन गर्न पाउने जनाएको छ। यसका लागि संकलन केन्द्रहरुका रुपमा निष्कासन तथा बिक्री प्रबन्धकसमेत जिम्मेवारी लिएको नबिल इन्भेस्टमेन्ट बैंंकिङ लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालय, कालिन्चोक दर्शनको दोलखाको कुरीस्थित कार्यालय, मेगा बैंकका शाखाहरु काटाकुटी बाघखोर, चरीकोटा र मैनापोखरी तथा सेन्चुरी बैंकको सिंगटी शाखालाई तोकिएको छ।
यसका अलावा आयोजना प्रभावित क्षेत्रको स्थायी बासिन्दा जो कामको सिलसिलामा अन्यत्र बसोबास गर्दै आइरहेका व्यक्तिहरुका लागि अनलाइनबाट पनि दरखास्त गर्न पाउने व्यवस्था मिलाइएको छ। अनलाइन आवेदन गर्न चाहने स्थानीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि https://localipo.nabilinvest.com.np मा गई आफ्नो सम्पूर्ण विवरणहरु भरी आवश्यक कागजातहरु समावेश गरी आवेदन गर्न सकिने निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्। दोलखा जिल्लास्थित मेगा बैंक र सेञ्चुरी बैंकका तोकिएका शाखाहरुबाट पनि यो आइपीओमा आवेदन दिन सकिनेछ।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago