काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले आउँदो माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसअघि सर्वसाधारण जारी गरिने कुल कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकिएको छ। 

लगानीकर्ताले यो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा सबै सेयर बिक्री नभएमा माघ १७ गतेसम्म खरिद आवेदन खुला रहनेछ। 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। 

कालिञ्चोक दर्शनको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।