नयाँदिल्ली । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १ हजारको नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि  धेरै भारतीयहरु गुगलको शरणमा पुगेका छन् । मानिसहरुले गुगलमा सर्च गर्न सुरु गरेका छन्–‘कालो धनलाई कसरी सेतो बनाउने ?’ सर्च इञ्जिन गुगलमा यो ‘की वर्डस’ ट्रेन्डमा रहेको इकोनोमिक टाइम्सले जनाएको छ । 

भारतको  कुल मुद्रामा ५०० र १ हजार रुपैयाँको नोटको हिस्सेदारी लगभग ८६ प्रतिशत छ । यो घोषणाका कारण कालोधन सञ्चित गर्नेहरुलाई निकै ठूलो नोक्सानी हुने अनुमान लगाउन थालिएको छ । 

कालोधनलाई श्वेत(सेतो) बनाउने आइडिया खोज्दै गुगलमा भारतीयहरुले गरेको सर्चमध्ये अधिकांश बढी प्रधानमन्त्री मोदीकै गृह राज्य गुजरातमा भएको देखिएको छ । गुजरात व्यापारको हिसाबले निकै समृद्ध राज्य हो र यहाँ अहिले पनि विजेपीकै सरकार रहेको छ । 

त्यसपछि दोश्रो नम्बरमा हरियाणा रहेको छ, यहाँ पनि धेरै मानिसले कालोधनलाई सेतो बनाउने आइडिया खोज्दै गुगल सर्चको अधिकतम प्रयोग गरे । 

सर्चको यो विषयमा हरियाणा गुजरातभन्दा केही मात्र पछि छ । यस अलावा पञ्जावबाट समेत लाखौं मानिसले यो जिज्ञासाको जवाफ खोज्दै निकै धेरै नै गुगल सर्च गरेका छन् । पञ्जाबमा आगामी वर्ष निर्वाचन समेत हुनेवाला छ । 

गुगल ट्रेन्डका अनुसार भारतीय नागरिकहरुले नोटको बिषयमा जानकारी जुटाउन खूबै सर्च गरे । मानिसहरुले नोट परिवर्तनको बिषयमा समेत सोधीखोजी गर्दै खूबै गुगल सर्च गरे । मंगलबार नोटको यो विषय गुगल ट्रेण्डको टप फाइभमै परेको थियो । 

भारतमा २७ करोड इन्टरनेट प्रयोगकर्ता छन् । सरकारको यो निर्णयमाथि कुरा गर्दै बित्त मन्त्री अरुण जेट्लीले भनेका छन्–‘यो फैसलाबाट मानिसले पैसा खर्च गर्ने तरिका परिवर्तन हुनेछ ।’ उनले आम मानिसले सरकारको यो निर्णयबाट आत्तिनुपर्ने अवस्था नरहेको समेत बताएका छन् ।