काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको वितरण सहज नभएको खण्डमा नेपाल आयल निगमका उच्च पदाधिकारीलाई कारबाहीको दायरमा ल्याउने चेतावनी दिएको छ । आयोगले आज निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द्रप्रसाद घिमिरेलाई बोलाएर इन्धन वितरण पारदर्शी नभएको, उपभोक्ता लाइनमा बस्नु परेको र अझै पनि कालोबजारी मौलाइरहेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो ।

पटक–पटक इन्धन वितरण पारदर्शी बनाउन र उपभोक्तालाई सहजरुपमा पाउने अवस्था सिर्जना गर्न भने पनि निगमले ध्यान नदिएको भन्दै आज थप सचेत गराउँदै समस्या समाधान नभए उच्च अधिकारीलाई नै कारबाहीको दायरमा ल्याउने बताएको हो ।

भारतको अघोषित नाकाबन्दी खुलिसकेको, प्रमुख भन्सार नाका वीरगन्जसमेत सहज भइसकेको अवस्थामा पनि पेट्रोलपम्पका अगाडि लामा–लामा लाइन हुनु जायज नभएको, त्यसमा निगम प्रशासनको लापरबाही देखिएको भन्दै आयोगले सचेत गराएको र समस्या समाधान नभए कारबाहीको दायरमा ल्याउने चेतावनीसमेत दिएको प्रवक्ता कृष्णहरि पुस्करले  जानकारी दिए ।

निगमले इन्धन वितरणका लागि काठमाडौँ उपत्यकामा पेट्रोल पम्पलाई इन्धन वितरण गरे पनि उपलब्ध गराएको परिमाणअनुसार वितरण नभएको, पेट्रोल र डिजेलमा समेत कालोबजारी कायम रहेको, खाना पकाउने ग्यास सहज हुन नसकेको, खाना पकाउन प्रयोग हुने मट्टीतेलको सहज आपूर्ति हुन नसक्नुको कारण के हो भन्दै प्रमुख खड्का र निर्देशक घिमिरेसँग जानकारी लिइएको थियो ।

हाल वीरगन्ज नाकाबाट कूल मागको ७० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ आयात भइरहेको छ । अन्य भन्सार नाकाबाट पनि मागअनुसारकै इन्धन आयात भइरहेको छ । वीरगन्ज बाहेक अन्य नाका सामान्य अवस्थामा रहेपनि पेट्रोलपम्प अगाडि हजारौँ सवारी साधनको लाइन कायम रहेको छ । निगमका प्रमुख खड्काले हाल काठमाडौँ उपत्यकामा पाँच लाख ५० हजार लिटर पेट्रोल र सोही परिमाणमा डिजेलसमेत वितरण गरिएको जानकारी दिए । सामान्य अवस्थामा उक्त परिमाण बढी नै भएपनि असहज अवस्थापछिका लागि भने पुग्दो हुन सकेको छैन ।

वीरगन्ज नाकाबाट सामान्य अवस्थामा २६ लाख लिटर इन्धन आयात हुने गरेकोमा हाल २० लाख लिटर मात्रै आयात भइरहेको छ । कूल आयातको ७० प्रतिशत बढी आयात हुने सो नाका सामान्य भएपनि इन्डियन आयल कर्पोरेसनले मागअनुसार इन्धन नदिएको निगमको दावी छ । यस्तै सामान्य अवस्थामा ६० बुलेट खाना पकाउने ग्यास आयात हुने गरेको नाका खुलिसकेपछि पनि हाल दैनिक ४० बुलेट मात्रै ग्यास आयात भइरहेको छ ।

सिलिण्डरको अभावमा उद्योगमा आइपुगेका बुलेटसमेत खन्याउन सकिएको छैन भने बढी मूल्य लिएर बिक्री वितरण गर्ने गुनासो आइरहेको भन्दै त्यसलाई सामान्यकीकरण गर्ने प्रयास भइरहेको खड्काको भनाइ छ । “भारतीय पक्षसँग सघन छलफलमा छौँ, सामान्य अवस्थामा भन्दा बढी उपलब्ध गराइदिन आग्रह गरेका छाँै, हाम्रो आग्रहअनुसार आयात बढिरहेको छ, तर छ महिना भन्दा बढी समय असहज रहेको बजार सामान्य हुन अझै केही समय लाग्न सक्छ” खड्काले भने । खाना पकाउने ग्यास सहज हुन नसक्नुको पछाडि ग्यास उद्योगीको पनि केही कमजोरी रहेको र समस्या तत्काल समाधान गर्न भनेको  बताए ।

भारतमा भन्दा नेपालमा इन्धन सस्तो
निगमका प्रवक्तासमेत रहनु भएका घिमिरेले रक्सौलमा भन्दा वीरगन्जमा इन्धनको मूल्य सस्तो भएका कारण पनि गैरकानुनीरुपमा कारोबार भइरहेको सूचना निगममा आएको जानकारी दिए  । पेट्रोल रक्सौलामा भन्दा वीरगन्जमा रु ४.५६ पैसा र डिजेल रु ३.२३ पैसा सस्तो रहेको छ । अन्तर्राष्ट्रिय बजारअनुसार आपूmहरु अझै पनि मूल्य समायोजन गर्न तयार रहेको घिमिरेको भनाइ छ ।

हवाई इन्धनको मूल्य समायोजन पछि बजार सहज भएको बताउँदै  पेट्रोल, डिजेल र मट्टीतेलको पनि मूल्य समायोजन गर्ने तयारी गरिएको छ । आइओसीले हरेक महिनाको एक गते र १५ गते पठाउने मूल्यसूचीका आधारमा नेपालको बजार मूल्य निर्धारण हुने प्रवक्ता घिमिरेले बताए ।

वितरण प्रणाली सुधार गर्छौँ
निगका प्रमुख खड्का र निर्देशक घिमिरेले आयोगलाई वितरण प्रणाली सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।

सामान्य अवस्थामा जस्तै पेट्रोल बिक्री गर्ने पम्पलाई पेट्रोल र डिजेल बेच्ने पम्पलाई डिजेल वितरण गर्ने निगमको तयारी छ । यस्तै कारबाहीमा परेका पम्प बाहेक अरुलाई मागअनुसार नै इन्धन दिने प्रतिवद्धता समेत निगमले आयोग समक्ष जनाएको छ ।

“सहज रुपमा वितरण गर्न कसरी सकिन्छ भन्ने बारेमा हामी प्रष्ट अवधारणा ल्याउँछौँ” उहाँले भने । काठमाडौँ उपत्यकामा हाल एक हजार ३०० किलोलिटर पेट्रोल, चार हजार २०० किलोलिटर डिजेल, २९० किलोलिटर मट्टीतेल र तीन हजार ७०० किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ । -रासस