काठमाण्डौ । प्रहरीले कालोबजारीको आरोपमा शुक्रबार नेपालकै ठूला र चर्चित दुई औषधि उद्योगका संचालक तथा व्यवस्थापकलाई पक्राउ गरेको घटनाले उद्योगी÷व्यापारीमा हलचल मच्चिएको छ । प्रहरीले ठूला उद्योगीहरुलाई नै कालोबजारी गरेको भन्दै पक्राउ गरेर कारबाही गरिछाड्ने अडान लिएपछि उद्योगी र व्यापारीबीच आतंक मच्चिएको हो । कालोबजारीविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भए पनि उद्योगी व्यवसायी सम्बद्ध विभिन्न संगठनले भने प्रहरीको कदमलाई समग्र निजी क्षेत्रविरुद्ध कदम भन्दै पक्राउ परेकाहरु तुरुन्त रिहा नभए कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् । 

अरु बेला कालोबजारीमा पक्राउ पर्ने सानातिना व्यापारी र उद्योगीको बिषयमा नबोलेका संगठनहरुले शुक्रबार चाहि संयुक्त रुपमा आफ्नो धारणा सार्वजनिक गर्नु पछाडि केही खास कारणहरु रहेका छन् । प्रहरीले शुक्रबार छापा मारी पक्राउ गरेका र पक्राउ पूर्जी जारी गरेका उद्योगीमध्ये केही उद्योगी नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका जिम्मेवार अधिकारी हुन् । यी संगठनका अधिकारीकै उद्योगमा प्रहरीले छापा मारेपछि उनीहरुले त्यसविरुद्ध खेद प्रकट गरेका छन् । 

लगभग ५ महिनाको नाकावन्दीबाट जर्जर भई जेनतेन संचालनमा आउन लागेका उद्योग व्यवसायहरु माथि विभिन्न बहानामा सरकारले प्रहरी प्रशासनको बलमा धरपकड गर्ने, नियन्त्रणमा लिने तथा मुद्धा मामला लगाई उनीहरुमा मानसिक त्रास उत्पन्न गराउने कार्य भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले भत्र्सना गरेका हुन् । 

‘विगत केही समयदेखि उद्यमी व्यवसायीहरु माथि वस्तुको विक्री मुल्यका नाउमा श्रृंखलाबद्ध रुपमा भएका धरपकडका घटना तथा आजै मात्र लोमस फर्मास्यूटिकल्स प्रा.लि. र देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि.का व्यवस्थापनमा रहेका केही व्यक्तिहरुलाई औषधिको मुल्य नघटाएको नाउंमा धरपकड भएको घटनाले निजी क्षेत्र सरकारको रवैयाबाट ज्यादै दुःखित, चिन्तित र दिक्क भएको छ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ–‘अत्यन्त असहज अवस्थाका बाबजुद पनि उद्योग संचालन गरी जीवनरक्षक औषधि उत्पादन गरी राष्ट्रका लागि सहयोग गरेका उद्यमी व्यवसायीलाई यस्तो कठिन र संवेदनशील परिस्थितिमा उत्साहित गर्नुपर्नेमा उल्टै निरुत्साहित गर्ने, वातावरण आतंकित बनाउने कार्य कुनै पनि सभ्य मुलुकका लागि शोभनीय देखिंदैन ।’

प्रहरीले छापा मारेर केही व्यक्तिलाई पक्राउ गरेको भनिएको देउराली जनता फर्मास्यूटिकल्स प्रालिका संचालक हरिभक्त शर्मा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । उनीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । उनको उद्योगबाट उपाध्यक्ष र महाप्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, लोमस फर्मास्यूटिकल्स प्रा.लि.बाट प्रहरीले प्रतापजंग पाण्डे र प्रवलजंग पाण्डेलाई पक्राउ गरेको छ । उनीहरु दुवै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका छोराहरु हुन् । दुवै उद्योगीविरुद्ध प्रहरीले सरकारले तोकेको भन्दै २५ देखि १ सय प्रतिशतसम्म औषधिमा मनखुशी मूल्यवृद्धि गरी कालोबजारी गरेको आरोप लगाएको छ । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले दुवै उद्योगले कालोबजारी गरेको जनगुनासोको आधारमा छानबिन गर्दा जथाभावी मूल्यवृद्धि गरेको देखिएको भन्दै पक्राउ परेका र फरार रहेका उद्योगीविरुद्ध समेत कालोबजारी ऐन अन्तरगत कारबाही गरिछाड्ने अभिव्यक्ति दिए लगत्तै महासंघ र परिसंघको चेतावनीयुक्त विज्ञप्ति सार्वजनिक भएको हो । 

विज्ञप्तिमा  अप्रमाणित, एकोहोरो र भरपर्दो सूचनाबिना नै एकतर्फी रुपमा धरपकड भएको आरोप लगाइएको छ । अर्बौको लगानी गरि हजारौलाई रोजगारी दिएका तथा महासंघ र परिसंघका जिम्मेवार पदमा रहेका उद्यमी व्यवसायीहरुलाई बिना कुनै सूचना एवं प्रष्टिकरणको मौका समेत नदिई एकतर्फी रुपमा धरपकड गरिएको समेत आरोप लगाइएको छ । 

‘बजारमूखी अर्थतन्त्रमा बस्तु र सेवाको मूल्य माग र आपूर्तिको आधारमा निर्धारित हुने सामान्य सिद्धान्त हो । खुला प्रतिस्पर्धि बजारमा बस्तुको विक्री वितरण हुने गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ–‘एक ठाउँमा उत्पादन भएका बस्तु बिभिन्न ठाउँमा बिक्रीका लागि ओसारपसार एवम भण्डार गरी खुद्रा विक्रीवितरण हुने गर्दछ । बजारमा विक्री हुने बस्तुको गुणस्तर, विक्री मूल्य आदिका बारेमा सरकारले अनुगमन गर्ने निहुमा कुनै एउटा दुईवटा उद्योग व्यवसायीलाई लक्षित गरी अनुगमन गर्ने, छापा मार्ने र बस्तु स्थितिलाई अर्कै ढङ्गबाट प्रस्तुत र व्याख्या गरी दुःख दिने, व्यापारीको, मानमर्दन गर्ने र व्यवसाय नै सिध्याउने उद्देश्यले कारबाही अगाडि बढाउने काम भइरहेको छ।’ 

दुवै संगठन घुमाउरो रुपमा उद्योग व्यापारीमाथिको धरपकड बन्द नभए आपूर्ति प्रणाली नै प्रभावित हुनसक्ने चेतावनी समेत दिइएको छ । 

अत्यन्त असहज अवस्थामा जेनतेन चलेका उद्योगधन्दाहरुलाई कसरी निर्वाध संचालन गर्ने भन्नेतर्फ राज्यको सम्पूर्ण प्रयास केन्द्रीत हुनुपर्नेमा उल्टो उद्योग व्यसाय र उद्योगी व्यवसायीको तेजोवध गर्ने, उद्योगी व्यवसायीहरुलाई हतोत्साहित गर्ने कार्य कुनै पनि हालतमा न्याय संगत नहुने र मुलुक अब स्वदेशी एवं विदेशी लगानीका लागि पूर्ण त योग्य छैन भन्ने सन्देश प्रवाह हुने आफूहरुको धारणा रहेको समेत विज्ञप्तिमा प्रष्ट्याइएको छ । 

विज्ञप्तिमा शुक्रबार नियन्त्रणमा लिइएका दुई उद्योगी र दुई उद्योग व्यवस्थापकसँगै केही महिनाअघि खाद्य तेलमा भएको कालोबजारीको आरोपमा पक्राउ परेका उद्यमी व्यवसायीको समेत रिहाई हुनुपर्ने माग गरिएको छ । आफ्ना माग पूरा नभए निजी क्षेत्र कडा आन्दोलनमा जान बाध्य हुने समेत चेतावनी दिइएको छ ।