काठमाण्डौ । दरबारमार्गमा अचाक्ली मूल्य असूलेर कालोबजारी गर्ने व्यापारीहरुलाई प्रहरीले पत्र काटेपछि तर्सिएका व्यापारीले आफ्ना नेता तथा संगठन गुहारेका छन् । 

व्यापारीले प्रहरी कार्यालयमा उपस्थित हुनको साटो रातारात फरार हुँदै आफ्ना नेतालाई गुहारी कालोबजारी तथा ठगीको गम्भीर अपराधलाई निस्तेज बनाउन नेतालाई अगाडि सारेका हुन् । 

कालोबजारीमा संलग्न व्यापारीलाई प्रहरी खोज्न थालेपछि नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले दैनिकजसो उच्च सरकारी अधिकारीसँग भेटेर दरबमार्ग कालोबजारी काण्डलाई फितलो बनाइदिन आग्रह गरिरहेका स्रोतले जनाएको छ । 

केही दिनअघि मुख्य सचिवलाई भेटेका चेम्बर अधिकारीले हरेक भेटमा कालोबजारी ऐन संसोधन लगायतका इस्यूू अगाडि सारेर जनता ठग्ने र हदैसम्म कालोबजारी गर्ने व्यापारीलाई कुनै कारबाही नगराउने प्रयास गरिरहेका देखिएको छ । 

यही क्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गृहसचिव मोहनकृष्ण सापकोटासँग भेट गरी व्यापारीहरुलाई थुन्ने काम नगर्न आग्रह गरेका छन् । 

प्रतिनिधिमण्डलले गृहसचिव सापकोटासँंग भेट गरी बजार अनुगमनपछि पहिला व्यापारीको कुरा सुन्ने, अनि मात्रै थुन्ने काम गर्नुपर्ने अनौठो माग राखे । बजार अनुगमनपछि व्यापारीलाई ल्याएर सिधै थुन्ने काम भएको भन्दै त्यसो नगर्न उनीहरुले चेतावनी समेत दिए । 

श्रेष्ठले दोषी प्रमाणित नभई व्यापारीलाई थुन्न नपाइने बताए । तर, आरोपीलाई समेत पुुर्पक्षका लागि थुनामा राख्न सकिने नेपालको कानून भने उनले बिर्सिएका पाइएको छ । कालोबजारी गर्ने व्यापारीलाई उसको दोष प्रमाणित भएपछि मात्र थुुन्नुुपर्ने चेम्बरको माग आफैंमा हास्यास्पद र कालोबजारीलाई मलजल गर्ने खालको देखिन्छ । 

भेटमा सचिव सापकोटाले व्यवसायीका जायज मागमा आफूू सधैं सकारात्मक रहेको बताए । 

उनले सरकारका कुनै पनि अधिकारीसँगको भेटमा जनताले गुनासो गरेपछि प्रहरीलाई अनुसन्धान गर्ने अधिकार छ, हामी अनुसन्धानमा सहयोग गर्छौं, गलत गर्ने व्यापारीलाई कारबाही गर्न सहयोग गर्छौ भन्ने खालका अभिव्यक्ति दिएका छैनन् । उनले १६ सय रुपैयाँको जुत्तालाई १६ हजार असूूल्ने हदैसम्मको ठगी धन्दालाई समेत व्यापारीहरुको बाध्यता भन्दै पन्छाउने गरेका छन् । उनले सरकारी अधिकारीसँग गर्ने तर्क सुन्दा यस्तो लाग्छ देशका व्यापारीहरुलाई कानून नै लाग्दैन, मानौ उनीहरु कानून भन्दा माथि छन् । 

जनतामाथि कुनै आरोप लाग्दा उसले अनुसन्धान अवधिभर थुनिइनुुपर्ने वा प्रहरी निगरानीमा बस्नुुपर्ने हुन्छ । तर, कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पत्र काटेपछि रातारात भगाइएको छ । कानून अनुसार काम गर्न अवरोध सिर्जना गरी, कानूनको अवज्ञा गर्न लगाई व्यापारी भगाएर राजेशकाजी श्रेष्ठ भने व्यापारीको नेताको नाममा प्रहरीले खोजी गरिरहेका व्यापारीलाई जोगाउने कसरत गरिरहेका छन् । व्यापारीको नेता भएर व्यापारीको पक्षपोषण गर्नु स्वभाविक हो, तर व्यापारको नाममा कालोबजारीजस्तो अपराध गर्नेहरुलाई समेत उन्मुक्ति दिन आफ्नो पद, पावर र जनसम्पर्कको दुरुपयोग गर्नु गलत कार्य हो । व्यापारीले जति पनि ठगी गर्न पाउनुपर्छ, फाइदाका लागि कालोबजारी गर्नैपर्छ भन्ने आशयको तर्क गर्ने छुट कानूनी राज्यमा राजेशकाजी श्रेष्ठलाई नहुनुपर्ने हो ।