काठमाण्डौ । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सञ्जाय ऐन २०३२ मा तत्काल सुधार हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

विद्यमान कालोबजार ऐनका चुनौति तथा समसामयिक सुधार विषयमा नेपाल चेम्बर अफ कमर्सदारा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् ।  

रक्षासचिव नारायण गोपाल मलेगोले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा समयसापेक्ष गर्नुपर्ने संशोधन सम्बन्धमा छलफल गर्नुपर्ने सुझाव दिए । उनले अपेक्षित सफलता हासिल गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । सीमित उद्योग व्यवसायीको लापरबाहीले समग्र उद्योग व्यवसाय क्षेत्रमा आँच आउन नहुने बताउँदै त्यस्ता व्यवसायीको पहिचान गर्न स्वयम् निजी क्षेत्र अग्रसर हुनुपर्ने बताए । 

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समाज र समयसापेक्ष रुपमा ऐन संशोधन नहुँदा समस्या देखिएको बताउंदै निजी क्षेत्रका सुझाव बमोजिम कालोबजार ऐन लगायत आर्थिक ऐनहरु संसोधन गर्न सरकार तयार हुनुपर्ने बताए । 

काठमाडौंका प्रमुख जिल्लाअधिकारी रामकृष्ण सुवेदीले सरकारले कतिपय बस्तुहरुमा तोकिएको मूल्यभन्दा बढी लिनु, कृत्रिम अभाव सिर्जना गर्नु, मिसावट गर्नु र कमसल सामानलाई असल भनी बिक्री गर्नु कालो बजारीको परिभाषाभित्र पर्ने बताउंदै अनुगमन कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । 

ललितपुरका प्रमुख जिल्लाअधिकारी ऋषिराम शर्माले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा बजारमा समस्या देखिएको बताउंदै ऐनमा समयसापेक्ष संसोधन गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । 

नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेशकुमार अग्रवालले ४० वर्षअघि नेपालमा नियन्त्रित अर्थ व्यवस्था हुँदां ल्याइएको ऐनले खुलाअर्थतन्त्रको मर्म र भावना बमोजिम कार्य गर्न नसक्ने हुदां ऐनमा आमूल परिवर्तनको आवश्यकता औंल्याए ।