काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टराईले सोमबार उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्। 

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो। कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बीमा सेवा पुर्याउन, सर्वसाधारणलाई जीवन बीमाको महत्व बुझाउन र बीमितले सहज रुपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ। 

उद्घाटन समारोहमा सीईओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताए। यसले बीमितलाई घरैमा बसेर बीमालेख खरिद गर्न र सुरक्षित रुपमा बीमा शुल्क भुक्तानी गर्न मद्दत गर्ने उनको भनाइ थियो। 

भट्टराईले हालको परिस्थितिमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिनुपर्नेमा पनि जोड दिए। उनले लेखनाथ कार्यालयलाई बीमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बीमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताए। 

आगामी दिनमा कम्पनीले ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्दै जाने प्रतिबद्धता सीईओ भट्टराईले गरे। कम्पनीले ग्राहकमैत्री सेवामा जोड दिएकै कारण उनीहरुमा कम्पनीको सेवाप्रति सन्तुष्टिको स्तर बढिरहेको उनले बताए। 

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बीमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गरे। नेपालको बीमासम्बन्धी क्रियाकलापप्रति सर्वसाधारण त्यति सन्तुष्ट नभएको र अभिकर्ताहरु बीमा शुल्क उठाउनमात्र दौडिरहेको उनले बताए। 

अध्यक्ष आत्रेयले बीमितको हित हुने गरी बीमा व्यवसाय गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा कम्पनीका बजार प्रमुख नविन थापा, गण्डकी प्रदेश प्रमुख शिवप्रसाद पौडेल, लेखनाथ शाखा प्रमुख निर्मला भट्टराई, दर्जनौं अभिकर्ता लगायत सर्वसाधरणको सहभागिता थियो।