– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हिजो एउटा सर्कुलर जारी गरी मुलुकभित्रै पठाइने रेमिट्यान्सको सीमा २५ हजार रुपैयाँमा कायम गर्न निर्देशन दिएको छ । यो निर्देशनसँगै अब आन्तरिक रुपमा प्रतिदिन १ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन सकिने व्यवस्था हटेर २५ हजार रुपैयाँ कायम गरिएको हो।

रेमिट्यान्स व्यवसायी भने राष्ट्र बैंकको उक्त सर्कुलर स्वागतयोग्य रहेको बताउँछन्। राष्ट्र बैंकले हुन्डीजस्ता अवैध रुपमा हुने कारोबार नियन्त्रण गर्नुका साथै डिजिटाइजेसन प्रमोट गर्न उक्त निर्देशन जारी गरेको उनीहरुको बुझाइ छ।

नेपाल रेमिटर्स एसोसिएसनका निवर्तमान अध्यक्ष तथा आइएमई लिमिटेडका सीईओ सुमन पोख्रेलले राष्ट्र बैंकको उक्त सर्कुलरले वालेटको प्रयोग बढ्ने बताउँछन्। ‘राष्ट्र बैंकको उद्देश्य पनि डिजिटाइजेसनलाई प्रमोट गर्ने हो’, उनले भने, ‘तत्काल अहिले यो सर्कुलरले ग्राहकका साथै व्यवसायीहरुलाई केही असर गरे पनि दीर्घकालीन रुपमा भने सबैलाई फाइदा नै हुन्छ।’

अहिले वालेटको प्रयोग पनि बढ्दो छ। त्यसका साथै वालेटको प्रयोगबाट पैसा पठाउँदा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले यस निर्देशनलाई सकारात्मक रुपमा लिनुपर्ने पोख्रेलले बताए।

नेपाल रेमिटर्स एसोसिएसनका उपाध्यक्ष रितेश मित्तल राष्ट्र बैंकले उक्त निर्देशन जारी गर्नुको पछाडि प्रमुख दुईवटा कारण हुन सक्ने बताए। ‘पहिलो कारण वालेटबाट कारोबार साथै डिजिटाइजेसन प्रोत्साहन गर्नु हो’, मित्तल भन्छन्, ‘दोस्रो भने हुन्डी, सुनजस्ता अवैध च्यानलबाट आउने पैसालाई नियन्त्रण गर्नु। त्यसैले यो निर्देशनलाई सकारात्मक रुप लिनु पर्छ।’

‘आन्तरिक रेमिट्यान्स गर्ने व्यवसायीहरुको संख्या कम नै छ। राष्ट्र बैंकको निर्देशनमा भनिएको २५ हजार रकम क्यासमा भएकाले ग्राहकहरु पनि मर्कामा नपर्ने देखिन्छ’, मित्तलले भने, ‘त्यसका साथै अहिले ग्राहकसँग कनेक्ट आईपीएस, वालेटजस्तो अन्य विकल्पहरु पनि छ।’ 

इजीलिंक रेमिट्यान्सका दिपेन्द्र खनालले राष्ट्र बैंकको उक्त निर्देशनले ग्राहक, एजेन्ट साथै व्यवसायीहरुलाई केही समय असर गरे पनि कालान्तरमा भने फाइदा नै हुने बताए। ‘उक्त सीमा ३ लाख, २ लाख, १ लाख हुँदै २५ हजार रुपैयाँ कायम भएको हो। त्यसैले राष्ट्र बैंकले यो निर्देशन वालेटको प्रयोग साथै डिजिटाइजेसन गर्दै जाने हेतुको साथ ल्याइएको देखिन्छ’, उनले भने।

‘अहिले मानिसको हात–हातमा आन्तरिक रेमिट्यान्स छ’, खनाल भन्छन्, ‘लाखौँ रुपैयाँ सजिलैसँग मोबाइलबाट पठाउन सकिन्छ।’

राष्ट्र बैंकले हुन्डीबाट बढी चलखेल बढ्यो भनेर रोक्नका लागि पनि यो निर्देशन ल्याएको हुनसक्ने खनालले बताए। खनाल भन्छन्, ‘बैंकिङ च्यानलबाट पैसा पठाउँदा रेकर्डमा देखिन्छ। तर, त्यही कारोबार एजेन्टको सहायताले हुन्डीबाट गर्दा रेकर्डमा देखिँदैन। त्यसैले त्यस्तो अवैध गतिविधि नियन्त्रण गर्न पनि यो निर्देशन जारी गरिएको हुन सक्छ।’