काठमाण्डौ । अमेरिकामा केही वर्षयता पढ्न जाने विदेशी विद्यार्थीको संख्या घट्दै गएको छ। 

पछिल्लो १६ वर्षकै अवधिमा शैक्षिकसत्र २०१९/२० मा अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा सबैभन्दा कम विदेशी विद्यार्थी पढ्नका लागि गएका छन्। विदेशी विद्यार्थी घट्नुमा ट्रम्प प्रशासनले अपनाएको आप्रवासी नीति नै प्रमुख कारण रहेको जानकारहरु बताउँछन्। 

गैरनाफामुखी संस्था इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनद्वारा जारी ओपन डोर्सको प्रतिवेदनअनुसार शैक्षिकसत्र २०१९/२० मा विदेशी विद्यार्थी पढ्नका लागि अमेरिका जानेको संख्या १.८ प्रतिशतले घटेको छ। विगत ७ दशकको इतिहासमा यो तेस्रो सबैभन्दा ठूलो गिरावट हो।
सानफ्रान्सिस्को विश्वविद्यालयका प्रोफेसर डोनाल्ड हेलरले विदेशी विद्यार्थी घट्नुमा ट्रम्प प्रशासनले चालेका कदम नै प्रमुख कारण रहेको बताएका छन्।

यो गिरावट चालु शैक्षिकसत्रमै ठूलो हो। किनकि कोरोना महामारीमा अंकुश लगाउनका लागि विदेशी यात्रा र भिजा जारीमा कडाइ गरिएको छ। नेसनल क्लियरिङ हाउस रिसर्च सेन्टरको यो महिनाको तथ्यांकअनुसार ग्राजुएट र अन्डरग्राजुएटमा नामांकनमा सेमेस्टरका लागि क्रमशः १५ प्रतिशत र ७.८ प्रतिशतले गिरावट आएको छ। 

विश्वविद्यालयहरुले ट्रम्पको राष्ट्रपति पदमा पुनः उम्मेदवारीपछि विदेशी विद्यार्थीहरुको प्रवेशका बारेमा चिन्ता व्यक्त गरेका थिए। उनीहरुले विदेशी विद्यार्थीहरु अमेरिकी कलेजहरुमा आउन निकै हतोत्साहित भएको बताएका थिए। ट्रम्प प्रशासनले अवलम्बन गरेका नीतिहरुकै कारण विदेशी विद्यार्थीहरु अन्य देशमा पढ्न जानेबारे विचार गर्न प्रोत्साहन गरेको उनीहरुको बुझाइ छ।

विदेशी विद्यार्थी घट्दा अमेरिकालाई दुई दशकमै सबैभन्दा ठूलो नोक्सानी भएको छ। अमेरिकी अर्थव्यवस्थामा सन् २०१९/२० मा विदेशी विद्यार्थीले कलेज र विश्वविद्यालयमा पढ्न बुझाएको शुल्कबापत ३८.७ बिलियन डलरको योगदान थियो। जुन अघिल्लो वर्ष लगभग ४१ बिलियन डलर थियो। 

अमेरिकी कलेज तथा विश्वविद्यालयमा कुल विद्यार्थीमध्ये विदेशी विद्यार्थीको संख्या ५.५ प्रतिशत हुन आउँछ। – एजेन्सी