काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरु निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकअनुसार वाणिज्य बैंकहरु निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको छ। जसका कारण गत वैशाख ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा वैशाख १० गते घटेर ३९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ। 

अघिल्लो साता पनि बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको थियो। 

एकपूर्व बैंकरले अहिले बैंकहरुको निक्षेप थोरै घट्नुलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘अहिले विवाह र व्रतवन्धको सिजन पनि हो, यस्तो बेला सर्वसाधारण पैसाको अत्याधिक आवश्यक पर्छ, त्यसैले आफूले सञ्चय गरेर राखेको पैसा बैंकबाट झिक्छन्’, उनले भने।
अर्को कारण भने कोरोना महामारी पनि हुन सक्ने ती बैंकरको तर्क छ। ‘अहिले कोरोना जोखिम बढ्दो, मानिसहरुमा त्रास छ’, उनले भने, ‘त्यही भएर बैंकमा राखिएको पैसा झिकेर मानिसहरुले घरमा राखेका छन्। दैनिक गर्जोदेखि स्वास्थ्य सुरक्षाका लागि पनि अहिले मानिसहरुले धमाधम पैसा झिकिरहेका छन्।’

यही अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १८ अर्ब रुपैयाँ बढेको छ। गत वैशाख ३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३५ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो। वैशाख १० गतेसम्म कुल कर्जा लगानी बढेर ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। 
अघिल्लो साता भने वाणिज्य बैंकहरु कर्जा लगानी पनि ८ अर्ब रुपैयाँले घटेको थियो।