– प्रकाश न्यौपाने
काठमाण्डौ । नेपालको सेयर बजार लामो समयदेखि लगातार घटिरहेको छ।
अर्थतन्त्रमा समस्या देखिएपछि राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले सेयर बजारमा प्रत्यक्ष प्रभाव परेको थियो। अहिले अर्थतन्त्रमा सुधार देखिन थाले पनि बजार सुस्त नै छ।
पछिल्ला राजनीतिक घटनाक्रम र चर्को ब्याजदरविरुद्ध आन्दोलन र लघुवित्त संस्थामा देखिएका समस्याले लगानीकर्ता अन्यौलमा छन्। यही बेला अमेरिकाका बैंकहरु डुब्नु र त्यही विषयलाई लिएर बजारमा विभिन्न खाले हल्ला चल्दा लगानीकर्ता थप त्रसित बनेको जानकारहरु बताउँछन्। ‘अहिले बजार न्यून विन्दुमा छ, अहिले राम्रा र बलिया कम्पनीमा लगानी बढाउँदै जाने उपयुक्त समय हो’, उनीहरु भन्छन्, ‘तर, बजार सुस्त बनेको छ, यसले बजारमा लगानीकर्ताको विश्वास बढिनसकेको संकेत गर्छ।’
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका निवर्तमान अध्यक्ष सन्तोष मैनाली बजार लामो समयदेखि लगातार घट्दा लगानीकर्ता निराश छाएको बताउँछन्। ‘जसका कारण ब्रोकर हाउसहरुमा लगानीकर्ता आउने क्रम घटेको छ’, उनले भने, ‘सेयर कारोबारका लागि नयाँ खाता खोल्न आउनेहरु पनि निकै कम देखिन्छन्।’
नयाँ सरकारले पूर्णता नपाउनु र अर्थतन्त्र सम्हाल्ने अर्थमन्त्री नै नहुँदा लगानीकर्ता झनै निराश देखिएको मैनाली बताउँछन्। ‘राष्ट्र बैंकले सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने कुनै नीति–नियम नल्याउनु, चर्को ब्याजको मारमा परेका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिनुलगायतका कारणले पनि सेयरबजारका लगानीकर्ताको मनोबल घट्दै गएको छ’, उनले भने।
राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले आन्दोलनमा उत्रिएकाहरुसँग छलफलसमेत नगर्दा बजारमा अन्यौलता छाएको मैनालीले बताए। ‘अब सेयर लगानीकर्ताका आधिकारिक संघ–संगठनका पदाधिकारीले बजारलाई हेर्ने सम्बन्धित निकायमा गएर छलफल गर्न आवश्यक देखिन्छ’, उनले भने, ‘आन्दोलनले कालान्तरमा बजारलाई फाइदा हुने भए पनि तत्काललाई नकारात्मक असर पार्छ।’
स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बजारमा विभिन्न खालका अलि अराजक आन्दोलन बढ्दै जाँदा लगानीकर्ताको मनोबल घट्दै गएको बताउँछन्। ‘बैंकहरुको खराब कर्जा बढ्ने हल्ला फैलिँदा लगानीकर्ता त्रसित भएका छन्’, उनले भने, ‘त्यसैले यथार्थ कुरा नबुझी हल्लाकै पछि लाग्दा बजारमा झनै बिक्रीचाप बढ्दैछ।’
अब अर्थमन्त्रीमा जो आए पनि बजारलाई सकारात्मक प्रभाव गर्ने रानाभाट बताउँछन्। ‘बजार घट्नुपर्ने खासै कारण छैन’, उनले भने।
बजार जानकार सरोज भट्टराई पछिल्लो राजनीतिक घटनाक्रमले लगानीकर्तामा अन्यौल बढेको बताउँछन्। ‘नयाँ सरकारले पूर्णता पाउला कि नपाउला ? अर्थमन्त्रीको बन्ला ? भन्ने चासो लगानीकर्तामा देखिन्छ’, उनले भने, ‘ठूला लगानीकर्ता आफ्नो लगानीलाई सुरक्षित र नाफामुखी बनाउन आफ्नो माग सुनुवाइ गर्ने अर्थमन्त्री चाहन्छन्। सेयर बजारलाई सकारात्मक बनाउन बजारमैत्री नीति ल्याउने अर्थमन्त्री आएमा मात्र उनीहरुले लगानी गर्ने र बजारमा खरिदचाप बढ्दै जाने देखिन्छ। त्यसैले अहिले ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।’
अहिले ब्याजदर घट्दो क्रम रहेको उल्लेख गर्दै भट्टराईले भने, ‘यो बजारका लागि सुखद् कुरा हो। ब्याजदर घट्दै जानुले तरलता विस्तारै सहज हुँदै गएको संकेत पनि गर्छ। अब राजनीति अन्यौल हटे बजारमा खरिदको माहौल बढ्दै जानेछ।’
35 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago