काठमाण्डौ । जब भारतमा लकडाउनबीच रक्सी पसलहरु खुले तब मानिसहरुको भीडभाड नै लाग्यो। लाग्थ्यो कि रक्सीका सौखिनहरु सास रोकेर वा भनौँ मन थामेर यो क्षणको प्रतीक्षा गरिरहेका थिए।

लकडाउन खोल्नासाथ रक्सी पसलबाहिर न त कोरोनाको डर न सामाजिक दूरीकै पर्वाह। उनीहरुको एउटै ध्याउन्न थियो कतिखेर आफ्नो घाँटी भिजाउन पाइएला।

भारतमा मात्रै होइन लकडाउनका क्रममा थुप्रै अन्य देशमा रक्सीको खपत बढ्दै गएको छ। बेलायतमा अहिले रक्सीको खपत २२ प्रतिशतले बढोत्तरी भएको छ भने अमेरिकामा ५५ प्रतिशतसम्म बढेको छ। 

अहिले अन्य आवश्यक सेवाहरुबाहेकको अर्थव्यवस्था ठप्प छ। मानिसहरु डराएका छन्। संकटको यो घडीमा रक्सी नै मानिसको लकडाउनमा गतिलो साथी बनेको छ। रक्सीमाथि किताब लेख्ने एनी ग्रेस भन्छन्, ‘जब रक्सी हाम्रो शरीरमा प्रवेश गर्छ तब निकै राहात महसुस हुन्छ। यस्तो अवस्थामा यसले तनाव क मगर्न निकै मद्दत गर्नुका साथै दिमागलाई आराम पुर्याइरहेको छ।’

तर राहातको समयसीमा पनि हुन्छ। रक्सी सेवन गरेको करिब २०–३० मिनेटपछि शरीरबाट कुनै न कुनै रुपले बाहिर निस्किन थाल्छ। त्यसपछि रक्सी अझै पिउन मन लाग्छ र लत बस्न थाल्छ।

दिमागको नशा

वास्तवमा रक्सी हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा बनेको छ। यसले दिमाग असर गर्छ। सन्देश आदानप्रदान गर्ने न्युरोट्रन्समिटरले अल्कोहलले प्रभावित गर्छ। यसले न्युरोट्रन्समिटरको काम गर्ने रफ्तारलाई सुस्त बनाइदिन्छ। त्यसैले मानिस रक्सी सेवन गरेपछि आनन्द महसुस गर्छन्। 

रक्सी शरीरभित्र प्रवेश गरेपछि डोपामाइन नामक हर्मन निस्किन्छ। जसले शरीरलाई स्फुर्त वा हल्का भएको महसुस गराइदिन्छ।

अस्ट्रेलियाको ड्रग र अल्कोहल रिसर्च सेन्टरका माइकल फ्यारेलका अनुसार मानिस प्रायः आफ्नो चिन्ता भगाउन रक्सीको सहारा लिन्छन्। ‘तर यसले चिन्ता भगाउनभन्दा बढाउन मद्दत गर्छ भन्ने विरोधाभास तथ्यहरु छन्’, उनी भन्छन्।

मानिस रक्सी किन पिउँछन् ?

कुरा लकडाउनमा मात्रै सीमित छैन। विश्वमा यस्ता थुप्रै मानिस छन् जो आफ्नो हौसला बढाउन रक्सीको सहारा लिन्छन्। रक्सीको लत लाग्ने यो पनि एउटा महत्वपूर्ण कारण हो। रक्सी सेवन गरेपछि मानिसहरु आफूमा साहस बढेको महसुस गर्छन्। 

लकडाउनका कारण घरभित्रै बन्द मानिसहरु अहिले धेरै रक्सी सेवन गरिरहेका छन् किनकि अहिले दैनिक रुटिन नै गडबड बभएको छ। जसरी अन्य समयमा हामी अत्यावश्यक सामान जोडेर राख्छौँ त्यसरी नै अहिले मानिसहरु घरमा जगेडा राखिरहेका छन्। अनि दैनिकजसो पिउने गरेका छन्।

नियम तोडेर रक्सीको लत

मनोविज्ञानका अनुसार मानिसहरु आफ्नो कुरा र व्यवहार सही साबित गर्न आसपासका मानिससँग पनि त्यही व्यवहार खोजिरहेका हुन्छन्। यही कुरा रक्सीको लतमा पनि लागू हुन्छ। त्यसैले कहिलेकाहीँ एकदुई पेग पिउने मानिस पनि आसपास रक्सीको बढ्दो खपतलाई हेरेर आफूले पनि अधिक मात्रामा रक्सी पिउँदा जायज भएको ठहर गर्छन्। 

अत्याधिक रक्सी सेवन खतरनाक हुन सक्छ

रक्सी पिउँदा हाम्रो शरीरको इम्युन सिस्टम कमजोर हुन्छ। यसले विभिन्न रोगको संक्रमणले छिटै बिरामी पार्न सक्छ। 

इटलीमा हालै भएको एउटा अध्ययनबाट औसत मात्रामा रक्सी पिउँदा पनि कोरोनाभाइरसको सिकार हुन सक्ने आशंका गरिएको छ। किनकि मानिसमा रक्सीको लत हुन्छ। जसले गर्दा फोक्सोले सही ढंगले काम गर्दैन र कोरोना संक्रमणले मुख्य गरी फोक्सोमै आक्रमण गर्छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एड्भाइजरीमा पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहनेले रक्सी पिउन छाड्नुपर्ने उल्लेख छ। – बीबीसीबाट भावानुवादित