काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा माथिको नगद कारोबारमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वाणिज्य बैंकहरुलाई माघ १८ गते पत्र पठाउँदै ७ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्नेहरुको विवरण उपलब्ध गराउन निर्देशन दिँदै अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

विभागअन्तर्गतको सम्पति शुद्धीकरण अनुगमन इकाइले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रतिकारोबार ७ लाख रुपैयाा र त्योभन्दा बढीको नगद कारोबारको विवरण बुझाउन निर्देशन दिएको छ। पत्रमा गत साउन १ देखि पुस ३० गतेसम्मको विवरण पठाउन भनिएको छ। 

अहिले बैंक तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद कारोबार गर्न मिल्दैन। पछिल्लो समय हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा नगद प्रयोग बढ्नु र नगदको शंकास्पद कारोबार बढ्दै गएकोले राष्ट्र बैंकले अनुसन्धान अगाडि बढाएको राष्ट्र बैंक स्रोत बताउँछ।